जसपा विवाद

‘विधानविपरीत महतोलाई दलको नेता बनाइयो’

काठमाडौं । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा) ले विधानविपरीत राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरिएको बताएको छ ।

शनिवार पार्टी कार्यालय बालकुमारीमा बसेको भट्टराई–यादवपक्षीय जसपाको केन्द्रीय कार्यकारिणी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले यस्तो बताएका हुन् ।

नेता भट्टराईले भने— ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’ यसअघि शुक्रवार महन्थ ठाकुर—राजेन्द्र महतोपक्षीय सांसदहरुले नेता महतोलाई दलको नेतामा चयन गरेका थिए । उनीहरुले आफूहरुको निर्णय बहुमतको भएको दाबीसमेत गरेका थिए ।

यस्तै अध्यक्ष उपेन्द्र यादवले विधानविपरीत चल्नेलाई कारबाही हुने चेतावनी दिए । भने— ‘विधानभन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुनबित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

बैठक चल्दाचल्दै यता महन्थ ठाकुरले भने विज्ञप्तिमार्फत जसपाको कुनै बैठक नबसेको जिकिर गरेका छन् । उनले विज्ञप्तिमार्फत आफूहरुलाई जानकारी नआएकोसमेत बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कारण एक बनेको जसपा ओलीकै कारण विभाजन हुने लागेको छ । ओलीलाई साथ दिने कि नदिने भन्ने विषयमा राजनीतिक मनमुटाव हुँदा जसपा फुटकेन्द्रित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *