अहिल्यै सरकारमा आउँदैनौँ : ठाकुर–महतो

काठमाडौं । पुनःनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुर–राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा आउन आग्रह गरेका छन् । तर, प्रधानमन्त्रीको आग्रह जसपाले अस्वीकार गरेको जसपा सांसद एकवाल मियाँले मकालु खबरलाई जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले अबको सरकारमा सामेल हुन प्रस्ताव गर्नुभएको थियो,’ सांसद मियाँले भने– ‘तर, हाम्रो अध्यक्षज्यूले तत्कालको लागिनयाँ सरकार सरकारमा नजाने भन्नुभएको छ । हामी अहिल्यै सरकारमा जाँदैनौँ ।’

अर्को सरकार नबन्ने र आफैं प्रधानमन्त्रीमा पून नियुक्त हुने लगभग तय भइसकेका बेला ओलीले शुक्रबार साँझ महन्थ ठाकुर र उपेन्द्र महतोसँग भेटघाट गरेका थिए । बालुवाटारमा भएको भेटका क्रममा ओलीले ‘अब तपाईंहरु पनि सरकारमा आउनुस्’ भनि प्रस्ताव गरेका थिए । तर, ठाकुर र महतोले त्यो प्रस्तावमा सहमति जनाएनन् । सांसद मियाँले भने— ‘हाम्रो पहिलो शर्त भनेको हामीले यसअघि राखेका मागको सम्बोधन हुनुपर्छ भन्ने हो, अनि मात्रै सरकारमा जाने कुरा आउँछ । अहिले नै माग पूरा भइसकेका छैनन् । हामीले गरेको मागमध्येमा अहिलेसम्म २० प्रतिशत जति मात्र माग पूरा भयो होला, कम्तीमा पनि ५० प्रतिशत माग पूरा भएको खण्डमा हामी सरकारमा जानेबारे सोच्न सकिन्थ्यो ।’

‘सरकारमै सहभागी हुँदा पार्टी फुट्ने सम्भावना भएकाले पनि जसपाले सरकारमा जाने प्रस्तावलाई अस्वीकार गरेको हो,’ सांसद मियाँको भनाइ छ । जसपाभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *