कम्तीमा एक महिना ओली नै प्रधानमन्त्री

काठमाडौं । बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयावधि सकिएको छ । योसँगै पुनः केपी शर्मा ओली नै कम्तीमा एक महिना प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउन आह्वान गरेकी थिइन् । तर, विपक्षी दलहरूले आफ्नो पक्षमा बहुमतको सरकार बनाउन असमर्थ भएपछि ओली नै प्रधानमन्त्री हुने निश्चित भएको हो । खासगरी जनता समाजवादी पार्टी (जसपा) एकढिक्का नहुँदा पुनः ओली नै प्रधानमन्त्री हुने भएका हुन् ।

२७ वैशाखमा संसद्को विश्वास गुमाएसँगै पदमुक्त भएका ओली अब संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्री बन्नेछन् । प्रतिनिधि सभामा १२१ सांसद भएको एमालेलाई जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिँदा बहुमत त पुग्छ । तर, यो पक्ष खुलेर ओलीलाई समर्थन गर्ने मनसायमा छैन । प्रतिनिधि सभामा १५ सांसद भएको यो पक्षले ओलीलाई विश्वासको मतसमेत नदिई तटस्थ बसेको थियो ।

तर, अब ओली प्रधानमन्त्री बन्दा ७६ (२) अनुसार नभएर ७६ (३) बमोजिम हुनुपर्ने कांग्रेसको सुझाव छ । ‘७६ (२) अनुसार प्रधानमन्त्री ओली बन्नुभयो भने खराब नजिर बस्न सक्छ । सदनबाटै विश्वासको मत लिन असमर्थ भइसकेपछि यो दाबी अनुचित हो,’ कांग्रेस नेता प्रकाशशरण मतले मकालु खबरसँग भनेका छन् ।

कांग्रेस–माओवादी ‘फेल’
यदि कांग्रेस–माओवादीलाई सिङ्गो जसपाले साथ दिएको भए ७६ (२) अनुसारै बहुमतको सरकार सजिलै बन्थ्यो । तर, जसपा आफैं पनि एकमत हुन सकेन । खासगरी ठाकुर–महतो पक्षले विपक्षी गठबन्धनबाट सरकारमा नजाने अडान लिएपछि संसद्का दुई ठूला दल कांग्रेस–माओवादी ‘फेल’ भए ।

बहुमत पुर्याउनको लागि दिनभरी नै विभिन्न भेटघाट, सम्वाद तथा आन्तरिक छलफलमा व्यस्त देखिएका दुई दल तीन दिने म्याद घर्किँदासम्म पनि खाली हात नै रहे । कारण, उनीहरुले कतैबाट बहुमत पुर्याउन सकेनन् । दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको थियो । वार्ताबाट सरकारको दाबी गर्दै शीतल निवास जाने सहमति भएपनि कतैबाट बहुमत पुग्ने सम्भावना नदेखेपछि उनीहरु ‘ब्याक’ भए । ‘अब जे गरेपनि बहुमत पुग्दैन । अब धेरै झन्झट नगरौँ,’ सभापति देउवालाई उद्धृत गर्दै कांग्रेस सांसद पुष्पा भुसालले मकालु खबरसँग भनिन् ।

साँझ बुढानीलण्ठकमा बसेको संसदीय दलको बैठकम यस्तो ब्रिफिङ्ग गरेका देउवाले दिउँसै असन्तुष्ट जसपाका नेताद्वय ठाकुर–महतोसँग पनि बातचीत गरेका थिए । तर, कुनै पनि सहमति जुरेन । भेटका क्रममा देउवाले आफू नेतृत्वको सरकारलाई सहयोग गर्न भनेका थिए भने ठाकुरले पनि सोही आग्रह दोहोर्याएका थिए । त्यसपछि ‘जसपाको भर नपर्नु’ भनी बुढानीलण्ठबाट निस्केका ठाकुर भक्तपुरको एक रिसोर्टमा मस्तिए ।

यसरी दलीय जोड–घटाउ नमिल्दा कांग्रेस–माओवादीको नयाँ सरकारको साझा सपना चकानाचुर भयो । ओली पुनः कम्तीमा एक महिनाका लागि प्रधानमन्त्री बन्ने भए । एक महिनापछि उनले पुनः विश्वासको मत लिनुपर्छ । जहाँ, ओलीले पुनः बहुमत ल्याउनुपर्ने चुनौती हुन्छ ।

विपक्षी एमाले ‘ब्याक’
बुढानीलण्ठकमै करिब ३ घण्टा बातचीत गरेका ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सकारात्मक सहमति भएको छ । ओलीसँगको वार्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले भने– ‘अब दुई÷चार दिनको लागि राजीनामा टर्यो । कार्यदल बन्ने भयो ।’

योसँगै ०७५ जेठ दुई मा फर्किनुपर्ने ‘बटमलाइन’ बोकेको नेपाल पक्ष केही ‘ब्याक’ भएको छ । आफू नै प्रधानमन्त्री बन्ने र एक महिनासम्ममा नेपाल पक्षलाई पनि आफूतिरै तान्ने मनसुबा बोकेका ओली कांग्रेस–माओवादीसँग बहुमत पुग्दैन र पुर्याउन सक्दैन भन्ने कुरामा विश्वस्त थिए । तर, कांग्रेस–माओवादी भने नेपाल पक्षले राजीनामा दिए प्रतिनिधि सभामा कायम रहने संख्या घट्ने र आफ्नो बहुमत पुर्याउन सहज हुने विश्लेषणमा थिए । तर, त्यो पनि भएन । यसरी नेपाल पक्ष ‘ब्याक’ भएसँगै कांग्रेस–माओवादीको बहुमतको सरकारको सपना चुँडिएको छ ।

प्रतिक्रिया