तानातानमा जसपा, पार्टी फुट्नसक्ने भन्दै चिन्तामा नेताहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) सत्तामा ओलीलाई टिकाउने कि नटिकाउने भन्ने विषयमा गम्भीर विवादको सामना गरिरहेको छ ।

दल विभाजनसम्बन्धी अध्यादेश र तत्कालीन समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको ‘अपहरण काण्ड’ पछि रातारात दल एक बनाएर जसपा बनाएका यी दुई पक्ष अहिले एकै दलभित्रको दुई फ्याक जस्तै बनेका छन् । पछिल्लो समय ओलीलाई सत्ताच्यूत गराउन वैकल्पिक सरकार बनाउने कांग्रेस–माओवादीको पक्षमा उभ्याउने कि नउभ्याउने भन्ने विषयमा जसपाभित्र पूर्वसमाजवादी र पूर्वराजपाको फ्याक स्पष्टै देखिन्छ ।

पूर्व सपापक्ष जे भन्छ पूर्वराजपा पक्ष त्यसको उल्टो भनिरहेको छ । संसद्मा ओलीले विश्वासको मत हासिल गर्न नसकेपछि अध्यक्ष उपेन्द्र यादवले बहुमतको सरकार बनाउन कांग्रेस र माओवादीसँग मिलेर पहल गर्ने विज्ञप्ति निकाले त्यही मध्यराति अर्का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउनु आफूहरुको कल्पनाभन्दा पनि बाहिरको कुरा भएको बताएर पार्टीमा दुई फ्याक रहेको र त्यो उत्तिकै सक्रिय रहेको सन्देश दिए ।

बुधबार दिनैभरि जसो ठाकुर आफ्नो पक्षका नेता महन्थ ठाकुरलाई लिएर अरु दलका नेतालाई भेट्न दौडिए । बिहीबार बुठानीलण्ठमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाको निम्तो मानेको केहीबेर पनि उनीहरु आफू पक्षका सांसदहरुसहित भक्तपुरको एक रिसोर्टमा पुगेको खबर सार्वजनिक भयो ।

जसपा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा विभाजित छन् । बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिने दिन सांसदलाई रिसोर्टमा पुर्याइएका छन् । यसले पार्टीभित्र कुन पक्ष बलियो हुने भन्ने खेल र सत्ताको तानातानमा सांसदहरु पनि परेको स्पष्टै देखिन्छ । जसपाका नेताहरु तत्कालीन राजपा र सपाकै तुस बाँकी रहेपनि केही सांसदहरु भने यताउता भएको बताउँछन् । पार्टी एकताभन्दा पहिला यादव पक्षमा १६ जना सांसद रहेको पूर्वराजपाका १३ जना सांसदमात्र रिसोर्टमा लैजान सकेकाले बाँकी सांसद बाबुराम उपेन्द्र पक्षमा लागेको लख काट्न सकिन्छ । तत्कालीन राजपाका महेन्द्रराय यादव र चन्द्रकान्त चौधरी उपेन्द्र यादवको पक्षमा देखिएका छन् ।

यादव पक्षका पनि उमाशंकर अगरिया र विमल श्रीवास्तव खुलेर ठाकुर पक्षमा देखिएका छन् । थप दुईजना सांसद आफ्नो पक्षमा आएको ठाकुर पक्षको दाबी छ ।

अब सरकार गठन अर्थात् सरकारमा को पुग्ने र को रहने भन्ने तानातान बढ्दै जाँदा जसपा दल नै विभाजन हुने हो खतरा पनि बढ्दै गएको भन्दै जसपाकै दोश्रो पुस्ताका नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया