प्रचण्ड–देउवाबीच वार्ता, सरकारको दाबीसहित शीतल निवास जाने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । एक माओवादी नेताले मकालु खबरलाई बताएअनुसार प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । ‘उहाँहरुबीच बहुमतको नयाँ सरकार बनाउने विषयमै कुराकानी भएको हो,’ ती नेताले भने– ‘खासमा कांग्रेस र हाम्रो लाइन त मिलिसकेकै हो । तर, सिङ्गो जसपा एक नहुँदा समस्या भयो । अब यो अवस्थामा कसरी जाने भन्नेबारे दुई नेताबीच कुराकानी भयो । उहाँहरुबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतल निवास जाने कि भन्नेसम्म कुराकानी भएको बुझेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार बनाउन आह्वान गरेकी थिइन् । जुन समयसीमा बिहीबार (आज) राति ९ बजे सकिँदैछ । तर, विपक्षी दलहरुबीच नै सल्लाह नमिलेपछि बहुमतको सरकार बन्ने सम्भावना न्यून हुँदै गएको छ । ‘अन्तिम घडीसम्म केही न केही विकल्प निस्किनेछ भन्ने हाम्रो बुझाइ छ,’ तीन नेताले भनेका छन्– ‘त्यसका लागि आवश्यक सम्वाद अघि बढाइरहेका छौँ ।’

यता एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हात्तीगौंडामा कुराकानी भइरहेको छ । ओलीले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाहीको फुकुवा गरेर नेता नेपाललाई भेट्न हात्तीगौंडा पुगेका हुन् । सत्तासिन एमाले बहुमतको सरकार नबने संविधानको धारा ७६ को ३अनुरुपको सरकार बनाउनुपर्ने अडानमा छ । एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरसँग भने– ‘बहुमतको सरकार नबने ७६ को ३ अनुसारको सरकार बन्छ र, त्यसलाई सबै दलले सहमत जनाउनुपर्छ ।’

प्रतिक्रिया