के हावाबाट कोरोना सर्छ ? डा. पुनको जवाफ

हावाबाट पनि कोरोना भाइरस सर्ने खबर सार्वजनिक भएपछि कोरोनाको जोखिम अझ बढेको भन्दै थप सतर्कता अपनाउन वैैज्ञानिकहरुले आग्रह गरेका छन् । कोरोनाको भाइरस हावाबाट पनि सर्ने भन्नुको अर्थ के हो र यसले कस्तो जोखिम बढाउँछ त ? नेपालको अवस्था कस्तो हो ? यिनै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग मकालु खबरकर्मी समीक्षा गाहाले कुराकानी गरेकी छन् ।

हावाबाट पनि कोरोना भाइसर सर्छ भन्ने कुरा आएको छ । यो कत्तिको साँचो हो ?
विश्वका २ सयभन्दा बढी बैज्ञानिकले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई एउटा खुलापत्र दिएका थिए । हावाबाट कोरोना सर्छ भन्ने उनीहरुको भनाइ थियो । त्यही बेला कोरोना हावाबाट सर्न सक्छ भनेर पनि भनियो । हावाबाट सर्ने भनिएको मतलव एउटा सडकदेखि अर्काे सडक, एउटा किनारदेखि अर्को किनारसम्म सर्ने भनिएको होइन । तर, कुनै एउटा बन्द कोठामा मानिसहरु धेरै छन् र अझ त्यहाँ संक्रमित पनि छ, ऊ ठूलो स्वरले बोलिरहेको छ, अनि त्यहाँ हावा आउजाउ गर्ने ठाउँ पनि छैन भने त्यस्तो अवस्थामा अन्य व्यक्तिलाई पनि कोरोना भाइरस सर्न सक्ने सम्भावना धेरै हुन्छ । दुई मिटरभन्दा टाढा भएमा चाँही सर्ने सम्भावना कम हुन्छ भन्ने वैज्ञानिकहरुको भनाइ छ ।

यसो हुनुको मतलब जोखिम कति बढ्नु हो त ?
यसबाट जोखिम त बढ्ने नै भयो । खासगरी विवाह, ब्रतबन्धलगायत भाजभतेर समारोह पार्टी प्यालेसमा गर्ने चलन बढ्दो छ । अझ महङ्गा ठाउँमा एसीहरु प्रयोग गरिएको हुन्छ । जुन हावा तान्छ त्यही हावा फाल्ने एसी राखिएको कोठामा धेरै व्यक्ति बसिरहेको हुनसक्छ । हावा पास हुने ठाउँ छैन । भेन्टिलेटरको व्यवस्था छैन भने कोरोना सर्ने सम्भावना धेरै हुन्छ । विशेष गरी भोज अनि यस्ता खाले उत्सवमा बढी संक्रमण भएको पाइएको छ । पछिल्लो समय विवाह लगायत एकै ठाउँमा भएका भेला भएका संक्रमित भएको अथवा विवाह भोज लगायतबाट सरेको भनेको सुन्नमा पनि आएको छ । र, धेरै त्यस्ता मानिसलाई मैले पनि भेटेको छु । एउटा कारण चाहीँ त्यो हुन सक्छ ।

हावामा आएको कोरोना भाइरस कति सयमसम्म जीवित रहन सक्छ ?
यसबारे अध्ययनले केही घण्टासम्म जीवित रहन्छ भन्ने देखाएको छ । तर यो देश अनुसार फरक पर्छ होला । किनभने अध्ययन गरिएको देशको हावापानी र अन्तको फरक पर्न सक्छ । वायुमण्डलको तापक्रम फरक पर्न सक्छ । त्यसो हुँदा ठ्याक्कै भन्न सकिने अवस्था छैन । अर्को कुरा मानिसमा भएको प्रतिरोधात्मक क्षमतामा पनि भर पर्ने कुरा भयो । तर, खासमा भाइरस हावामा पनि केही समय रहन्छ । हाम्रो लागि हाम्रो देशमा चलिआएका सँस्कृतिहरु विवाह, पार्टी उत्सव बन्द कोठामा गर्ने चलन भएकाले त्यस्तो अवस्थामा चाहीँ कोरोना सर्ने सम्भावना बढी नै हुन्छ ।

कोभिड-१९ को दोश्रो लहरको संक्रमणपछि देखिने लक्षण पनि फेरिएको भन्ने कुराहरु आएका छन् । यसमा कत्तिको सत्यता छ ?
अहिले पनि तीन चारवटा मुख्य लक्षण देखिने गरेको छ । ज्वरो उच्च हुनु, खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या हुनु, स्वाद तथा गन्ध थाहा नपाउनु । यी बाहेक कसैकसैलाई पखाला लाग्ने, टाउको दुख्ने, जीउ दुख्ने थप लक्षण र समस्या पनि सँगै आएको पाइएको छ । यस्तो सबैलाई हुन्छ भन्ने भएन । केहीमा देखिन सक्ने भयो । यसबाहेक अन्य कुरा लक्षण पनि देखिएको हुन सक्छ । जस्तो उदाहरणका लागि कुनै व्यक्तिले स्वाद थाहा पाएन, रुघाखोकी जस्तो लागेको छ भने सम्भावना बढेर गयो । अनि कसैले मलाई रुघाखोकी लागेको छ, पखाला लागेको छ भन्यो भने समय र खानपानका कारणले पनि कहिलेकाहीँ त्यस्तो भएको हुनसक्छ । यसका लागि परीक्षण गरेर निर्क्यौल गर्नुपर्‍यो ।

कोरोनाको नयाँ भेरियन्टबारे नयाँ नयाँ अनुसन्धानहरुले थप के कस्ता तथ्यहरु पत्ता लगाएका छन् ?
नेपालमा त खास अनुसन्धान भएको छैन । भए पनि आआफ्नो तरिकाले गरेका होलान् । नेपालमा अहिलेसम्म प्रमाणित भएका दुई तथ्य मात्रै हुन् । डबल म्यूटन्ट भेरियन्ट र यूके भेरियन्ट हो । अरु पनि भेरियन्ट होलान् । तर, हामीले यो विश्लेषणलाई अगाडि बढाएका छैनौं । त्यसकारणले अहिले तिव्र रुपमा फैलिएको भाइरस कुन चाहीँ भेरियन्ट भन्ने पनि थाहा छैन । त्यसबारे पनि खोज गर्न पाए नीतिनिर्मातालाई कस्तो भ्याक्सिन ल्याउने र समस्यासँग कसरी जुध्ने भन्ने अध्ययन गर्न सहज हुने थियो ।

नेपालको सन्दर्भमा अरु जोखिम पनि छन् कि ?
अहिले धेरै ठाउँमा लकडाउन छ । धेरैजसो मानिस घरमै छन् । तत्काल अर्काे परिवारमा जाने सम्भावना कमै होला । यद्यपी, मानीसहरु घुम्न गइरहेका काम बिनै पनि बाहिर हिंडिरहेका देखिन्छन् । यस्तो कुरामा सावधानी अपनाइएन भने जोखिम अझ बढ्छ । सामानहरु किनमेल गर्न जाँदा पनि वा अरु काममा जाँदा पनि एकदमै होसियारी अपनाउनुपर्छ । दूरी कायम राख्ने, मास्क अनिवार्य लगाउने, हातमुख साबुनपानीले धोइराख्ने जस्ता मापदण्ड अपनाउनुपर्छ । बाहिर के रहेछ भनेर निस्कने, मापदण्ड नअपनाउने के हुन्छ र भनेर हेलचेक्र्याइ गर्ने बानी नत्याग्ने हो भने संक्रमणको जोखिम बढी हुन्छ । र अर्को कुरा हाम्रोमा स्वास्थ्यको अवस्था नाजुक रहेको कुरा त भनिरहनुपर्ने अवस्था होइन । अहिले संक्रमण दर बढेसँगै अस्पतालहरु भरिएका कुराहरु आएका छन् । बिरामीलाई बेड पाउन मुश्किल परेका कुराहरु आएका छन् । यसहिसाबले पनि हामीले अझ धेरै ध्यान दिन जरुरी हुन्छ ।

सम्बन्धित अन्तर्वार्ता:

जोखिमका बेला बालबालिकालाई थप ख्याल गरौं : डा. सेढाईं

महामारीमा गर्भवतीलाई थप हेरचाह जरुरी हुन्छ : डा. संगिता मिश्र

तीन हप्ता नेपालका लागि कठिन‚ कडा सेल्फ लकडाउनमा बसौं : डा पाण्डे

घरमा बस्दैगर्दा अक्सिजनको मात्रा घटे के गर्ने ?

महामारीका बेला पनि खुशी हुने काेशिस गराैं- मनाेचिकित्सक ऋषभ काेइराला

प्रतिक्रिया