मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

जोखिमका बेला बालबालिकालाई थप ख्याल गरौं : डा. सेढाईं

काठमाडौं । कोभिड-१९ को संक्रमणले फेरि एकपटक विश्वलाई आक्रान्त बनाएको छ । कोरोनाका कारण विकसित र धनी देशहरू पनि हायलकायल बनिरहेका छन् । भाइरसको स्वरुप पहिलो चरणको भन्दा बढी संक्रामक रहनु र अर्कोतिर हाम्रो हेलचेक्र्याईँ बढ्नुजस्ता कारणले अहिले झन् तनाव थपेको छ ।

कोभिडबाट सबै उमेर समूहका नागरिक प्रभावित छन् । अघिल्लोपटकको लहरमा बालबालिका कममात्र संक्रमित भएको पाइएकोमा यसपटक बालबालिकामा पनि संक्रमणदर धेरै देखिएको छ । बालबालिकाको स्वास्थ्यको कुरा बालबालिकामा मात्र नभएर उनीहरुका अभिभावकमा पनि उत्तिकै जोडिन्छ । यसकारण महामारीका बेला अभिभावकले आफ्नो सँगै बालबालिकाको पनि स्वास्थ्यबारे धेरै कुरामा ख्याल गर्नुपर्ने चिकित्सकको भनाइ छ । कोभिड–१९ को महामारी र बालबालिकामा यसको जोखिम र यसलाई कम गर्ने विषयमा वरिष्ठ बालरोग विशेषज्ञ डा. राजु सेढाईंसँग मकालु खबरकर्मी समिक्षा गाहाले गरेको कुराकानीको सारसंक्षेप–

नेपालमा पनि कोभिडको दोस्रो लहर चर्किरहेको छ । नेपालका बालबालिका कति जोखिममा छन् ?

कोरोनाबाट बालबालिकाहरू जोखिममै छन् । खासगरी बालबालिकामा परिवारका सदस्यबाट कोभिड सर्ने भएकाले यसमा विशेष ध्यान दिन जरुरी छ ।

पहिलेको लहरमा हामी अलि धेरै आँत्तिएका थियौँ । जसका कारण हामी अलि बढी सजग बन्यौँ । र बालबालिका कम संक्रमित भए । हामीमा डर बढी थियो । पहिलो लहरमा हामी बाहिर निस्किएनौँ । बाहिर ननिस्किएपछि जोखिम पनि कम भयो तर अहिलेको लहरमा धेरै लापरबाही भयो र भइरहेको छ । बालबालिकामा संक्रमण सिधै हुने होइन । हामी कोरोनालाई वास्तै नगरी बाहिर निस्कने, हूलमा जाने, मापदण्ड पूरा नगर्ने र घर फर्कने गर्नाले त्यही व्यक्तिबाट घरमा भएका बालबालिका पनि संक्रमित भइरहेका हुन्छन् ।

त्यसैले पहिलो वा दोश्रो लहरमा जोखिम कम बढी भन्ने होइन । यो सावधानी अपनाउन नजानेर परिवारका सदस्यबाटै बालबालिका बढी संक्रमणमा परेका हुन् ।

अर्को कुरा, कोभिडको जोखिम बालबालिकामा विश्वभरि नै उस्तैउस्तै छ । विश्वको तुलनामा पनि जोखिमको रेसियोचाहिँ उस्तै उस्तै नै देखिन्छ । तर संक्रमण भइसकेपछि उपचारको सन्दर्भमा चाहिँ हामी निकै पछाडि छौँ ।

भाइरसको बद्लिँदो स्वरुपका कारण पनि बालबालिका यसपटक बढी संक्रमित भएका हुन् कि !

पहिलो लहरको कोरोनाको लक्षण ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउने, खोकी लाग्ने, निमोनिया हुने र सिरियस हुने थियो । अहिलेको लहरमा पनि उस्तैउस्तै तर पहिलेभन्दा अलि कडा छ । अहिले ज्वरो लामो समयसम्म आइरहने, निमोनिया पनि पहिलेको भन्दा अलि गम्भीर प्रकृतिको देखिएको छ ।

तर, पहिलो लहरको कोरोनाभन्दा अहिलेको कोरोना अलि बढी नै कडा छ र यसबाट जोगिन विशेष सावधानी अपनाउन जरुरी छ ।

बालबालिकालाई यो जोखिमबाट बचाउन के के गर्नुपर्छ ? अभिभावकको भूमिका कस्तो हुनुपर्छ त ?
प्रथमतः‚ हामीले हाम्रो आनीबानी, व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । जस्तो कि, काम नपरी घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पनि स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने, नाकमुख छोपिनेगरी मास्क लगाउने, बेलाबेला साबुन पानीले मिचिमिची हात धुने, स्यानीटाइजर लगाउने, भिडभाडमा नजाने, बिहे व्रतबन्ध‚ पार्टी, सभामा नजाने, जानै परे सुरक्षाका मापदण्ड पालना गरेर मात्रै जाने गर्नुपर्छ ।

परिवारका सदस्यबाटै बालबालिका बढी असुरक्षित बनिरहेका छन् । हामीबाटै बालबालिकालाई कोरोना सर्ने भएकाले यसबाट बालबालिकालाई जोगाउन उनीहरूको धेरै ख्याल गर्नुपर्छ ।

बालबालिकालाई बाहिर निस्कन नदिने र आफू नगई नहुने काम भएपनि उनीहरुलाई घरमै छाडेर जाने, यदि उनीहरुलाई पनि नलगी नहुने अवस्था भए कडाइका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै लैजानुपर्छ ।

कतिपयले आफैँ मास्क लगाउने, हात धोइरहने, दूरी कायम गर्नेजस्ता सावधानी अपनाउन सक्दैनन् वा मान्दैनन्‚ उनीहरुलाई कसरी बानी लगाउने ?

बच्चाहरुको पनि उमेरअनुसार फरक पर्छ । बालबालिकाले ठूलाले गरेको देखेरै सिक्ने हुन् । त्यसैले हामीले पनि मापदण्ड पालना गर्नुपर्‍यो । अनि उनीहरुलाई सिकाउन सजिलो पनि हुन्छ ।

भिडभाडमा नजाऊ भन्नुपर्‍यो, आफू पनि घरभित्रै बस्नुपर्‍यो । उनीहरुलाई घरभित्र खेल्ने व्यवस्था मिलाउनुपर्‍यो, स्वास्थ्यसम्बन्धी सन्देश सुनाउने/देखाउने गर्नुपर्‍यो, यो रोगका बारेमा बताउनेजस्ता कुराहरू हामी परिवारका मानिसले नै सिकाउनुपर्छ ।

हामीले सिकाएपछि न उनीहरूले थाहा पाउने र बुझ्ने हुन् । विशेषतः उनीहरुको सिकाइ हाम्रै बानी व्यहोरामा भर पर्ने कुरा हो ।
हामीले बच्चाहरुलाई सिधै भन्नेभन्दा पनि आफैँले गरेर देखायौँ भने उनीहरुले त्यसैलाई पछ्याउँछन् । त्यसैबाट बालबालिकामा परिवर्तन आउने भएकाले परिवारबाटै ध्यान दिन जरुरी छ । परिवारका सदस्यले विशेष ख्याल गर्नुपर्ने हुन्छ । बालबालिकाको आनीबानी व्यवहार परिवर्तन गर्न उसको परिवारको सबैभन्दा ठूलो हात रहन्छ ।

बालबालिकाहरू बढी चुलबुले हुने, खेल्न घरबाहिर गइरहने, समूहमा खेल्ने, कुद्ने, रमाउने हुन्छन्, जिद्दी गर्छन्, भनेको मान्दैनन् भन्ने धेरै अभिभावकको गुनासो सुनिन्छ । यस्तो बेलामा उनीहरुलाई सम्हाल्न कठिन हुन्छ कि !

भिडभाडमा त जानै भएन । शहरतिर ठाउँको अभावका कारण पनि धेरै बालबालिका झुरुम्म भएर सँगै खेल्ने भएकाले संक्रमणको जोखिम धेरै हुन्छ । त्यसैले बालबालिकालाई घरभित्रै राख्नुपर्‍यो । तर बालबालिका अलि जिद्दी स्वभावका हुने भएकाले त्यति सजिलै सम्भव नहोला पनि । यसको पनि तरिका छ । उनीहरुको रुचीको विषयमा ध्यान दिने र सकेसम्म घरभित्रै सम्भव बनाउने । घरभित्रै खेल्न मिल्ने सामग्री ल्याइदिने, उनीहरुसँग खेल्ने, रुचीअनुसार कथा वा अन्य रमाइला कुरामा उनीहरुलाई भुलाउने, सँगै खेल्ने‚ खेलाउने, खाना बनाउनेजस्ता विविध कुरामा ध्यान दिने र उनीहरूलाई सहभागी गराउनेतर्फ लाग्नुपर्छ ।

विद्यालय बन्द हुँदा र लामो समय घरभित्र मात्रै बस्दा बालबालिकाको मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ होला ?

विद्यालय जाने, आफ्नै उमेर समूहका साथीसँग खेल्ने र घुलमिल हुने बालबालिका घरभित्रै बसिरहनुपर्दा तनाव त पक्कै हुन्छ ।

यसले पछिसम्मको उनीहरुको शारिरीक तथा मानसिक विकासमा असर त पार्छ नै । तर पनि अहिलेको यो समयमा त्योभन्दा ठूलो असर त उनीहरू बाहिर निस्कँदा वा परिवारका सदस्य बाहिर निस्केर घर जाँदा पर्छ । त्यसैले विकल्पहरू प्रयोग गर्ने हो । अहिले अनलाइनको उपयोग गर्न सकिन्छ । साथीहरुसँग अनलाइनमा कुराकानी गराउने, आफन्तसँग कुराकानी गराउनेलगायतका काम गर्न सकिन्छ । राम्रा, शिक्षामूलक रमाइला फिल्महरु, कथाहरु, वा उनीहरुको रुची र उमेरअनुसार खेल, अभिप्रेरणात्मक सामग्रीहरू पनि अनलाइनमार्फत् देखाउन सकिन्छ ।

यस्तो बेलामा उनीहरुलाई एक्लै नछाडी सकेसम्म परिवारका सदस्यको हेरचाहमा राख्नुपर्छ । उनीहरुको दिमागमा नकारात्मक कुराहरु खेलिरहेका हुनसक्छन् । उनीहरू दिक्दार भएका हुन सक्छन् । उनीहरुको व्यवहार कस्तो छ, आनिबानी परिवर्तन भइरहेको छ/छैनजस्ता कुराहरू नजिकबाट नियाल्नुपर्छ । उनीहरुलाई उचित हेरचाह र गाइडेन्स जरुरी हुन्छ । यसमा अभिभावकले ख्याल गर्नुपर्छ ।

(डा. सेढाईँ हेटौंडा अस्पतालमा वरिष्ठ बाल रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।)

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com