महामारीमा गर्भवतीलाई थप हेरचाह जरुरी हुन्छ : डा. संगिता मिश्र

काठमाडौं । शारीरिक अवस्था परिवर्तनका कारण प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले गर्भावस्था यसै पनि संवेदनशील र विशेष हुन्छ । यो अवस्थामा गर्भवतीले विशेष सावधानी अपनाउन आवश्यक छ । यस्तो अवस्थामा रोगको जोखिम हुने भएकाले विशेष सतर्कता र सुरक्षाचाहिँ अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । यसैपनि संवेदनशील अवस्थामा रहने गर्भवती, महामारीका बेला थप जोखिममा हुने विभिन्न अध्ययनले देखाएका छन् ।

कोभिड-१९ को महामारी बढेको अहिलेको बेला गर्भवतीको स्वास्थ्य र मानसिक अवस्था अनि घरपरिवारको भूमिकाबारे मकालु खबरकर्मी समिक्षा गाहाले जनस्वास्थ्यविद् तथा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. संगिता मिश्रसँग गरेको कुराकानी–

महामारीका बेला गर्भवतीले थप के कुरामा ध्यान दिनुपर्छ ?
हामीले गर्भवतीलाई यो महामारीको बेलामा अन्य समयमा भन्दा विशेष ध्यान त दिनु नै पर्छ । सरसफाईदेखि लिएर खानपानमा धेरै नै ख्याल गर्नुपर्ने हुन्छ । मुखौटो (मास्क) लगाउने, साबुन पानीले हात धोइरहने, स्यानिटाइजर प्रयोग गर्ने, पहिलेदेखि नै भनिँदै आएको स्वास्थ्यका मापदण्डहरु पालना गर्नेजस्ता कुरामा विशेष सावधानी अपनाउनपर्छ । दोस्रो कुरा, गर्भावस्थामा अन्य रोगहरुले पनि सजिलै छुन सक्ने जोखिम धेरै हुने भएकाले पनि विशेष ध्यान दिनुपर्छ ।

परिवारका मानिस कामका लागि वा कुनै कारणले घर बाहिर गइराख्नुपर्ने हुनसक्छ, घरपरिवारका मानिसको सम्पर्क धेरै खालका मानिससँग हुने सम्भावना छ भने गर्भवती त्यस्ता परिवारका सदस्यको सम्पर्कमा जानै हुँदैन ।

नआई नहुने अवस्थामा सतर्कताका साथ मापदण्ड पालना गरेर मात्र जानुपर्‍यो । हामी परिवारको सदस्यलाई संक्रमण छैन, चिनेजानेको मानिस र आफन्तहरुमा त कोरोना हँदैन होला भन्ने सोच्छौँ तर, आफू घरमा बसेपनि अरु मानिस त बाहिर गएर अन्य मानिसको सम्पर्कमा गएर आइरहेका हुन्छन् नि, त्यसकारण घरका अथवा अन्य चिनजानेका मानिससँग पनि अनावश्यक रुपमा नजिक भएर नबस्ने, धेरै बाहिर हिँड्ने मानिससँग जोगिएर र सावधानी अपनाएर बस्नुपर्छ । कम्तिमा भौतिक दूरी र मास्कको प्रयोगमात्र भएपनि गर्नुपर्‍यो ।

भिडभाडमा सकेसम्म जानु हुँदैन । हाम्रोमा एक मुठो साग लिन, एक प्याकेट दूध दही लिनका लागि पनि घरबाहिर जाने गरिन्छ । फेरि सामान किनमेलमा महिला नै धेरैजसो जाने चलन छ । यसले गर्दा गर्भवतीलाई बढी जोखिम हुन्छ । किनमेलमा पुरुषले पनि सघाइदिनुपर्छ । यसो गर्दा गर्भवतीहरू घरबाहिर निस्कुनपर्ने बाध्यता कम हुन्छ ।

कोरोनाजस्ता महामारीको बेला गर्भावतीले आफूमा नकारात्मक सोचहरू आउने गरेको अनुभव पनि सुनाउने गरेका छन् । यो अवस्था कतिको हानिकारक हो र यसबाट कसरी जोगिने ?
अन्य बेलाभन्दा गर्भवती भएका बेला अलि तनाव नै हुन्छ । आफ्नो ख्याल गर्नुपर्छ शिशुको ख्याल गर्नुपर्‍यो । त्यहि भएर यो समयमा तनाव त हुन्छ नै । त्यसैले यो अवस्थालाई सामान्य बनाउन सकारात्मक कुराहरुमा मात्र ध्यान दिनुपर्‍यो ।

आफ्ना इच्छाअनुसारका कुराहरू‚ जस्तो कसैलाई फिल्म हेर्न मन लाग्ला, गीत सुन्न मन लाग्ला, किताब पढ्न मन लाग्ला, सञ्चारमाध्यममा आएका राम्रा कुराहरू हेर्ने‚ पढ्ने‚ सुन्ने गर्न सकिन्छ मनोरञ्जनात्मक कुराहरू हेरेर‚ सुनेर जसरी हुन्छ आफूलाई सकरात्मक राख्नुपर्छ । अनि नकारात्मक खालका समाचारमा ध्यान नदिने, कसैबाट त्यस्तो कुरा सुनेपनि नपत्याउने गर्नुपर्छ ।

गर्भवतीलाई यस्ता कुराबाट सुरक्षित बनाउन र नकारात्मक भाव कम गर्न श्रीमान् र घरपरिवारको भूमिकाचाहिँ कस्तो हुनुपर्छ ?
गर्भवतीलाई कसरी सुरक्षित बनाउने‚ उसको स्वास्थ्य अवस्था कस्तो राख्ने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण भूमिका श्रीमान र घरपरिवारका सदस्यहरूको नै हुने भएकाले उहाँहरुले नै विशेष ध्यान दिन जरुरी छ । अरुबेला पनि यो अवस्थामा विशेष हेरचाह आवश्यक पर्छ भने कोरोनालगायत महामारीका बेला त झनै यो भूमिका अत्यावश्यक हुन्छ ।

घरपरिवारका सदस्य आवश्यक कामका लागि बाहिर जानैपर्ने अवस्था छ भने पनि फर्केपछि गर्भवतीको छेउछाउमा सकेसम्म नजाने, भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालनाजस्ता कुरामा ध्यान दिनुपर्‍यो । फेरि यसो भनेर यहि बहानामा गर्भवतीलाई बेवास्ता गर्ने भन्ने चाहिँ होइन । मानसिक स्वास्थ्यका लागि सकारात्मक कुराहरु गर्नुपर्‍यो, परीक्षणका लागि अस्पताल जाँदा सहयोग गर्नुपर्छ ।

यस्तो अवस्थामा गर्भवतीलाई हौसला, माया, साथ र सहयोगको धेरै आवश्यकता हुन्छ‚ जसका कारण उनी अझ बलियो हुन सक्छिन् ।

गर्भवतीको खानपानको कुरा पनि त आउँछ नि‚ कसरी ध्यान दिने ?
गर्भवतीका लागि पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्छ । गर्भवतीका खानेकुरा कसैले छोइदिनु, चलाइदिनु भएन । खाइदिनु पनि भएन ।

गर्भवतीले पोषिलो खानेकुरामा विशेष ध्यान दिनुपर्छ । सकेसम्म घरमै बनाएको ताजा, स्वच्छ, पौष्टिक र स्वस्थ खानेकुराहरु खानुपर्‍यो । बजारका बासी खानेकुरा खानु भएन, कम्तिमा पनि आधा लिटर दूध, अण्डा गेडागुडी, सागपात खाएमा प्रोटिन र क्याल्सियमको मात्रा पुग्छ । यसबाहेक डाक्टर र स्वास्थ्यकर्मीको सल्लाहमा खाने कुरामा ध्यान दिएमा त्यति समस्या हुँदैन । घरमा नै सामान्य व्यायाम हिँडडुल, कसरतका साथै सजिला योगहरू गर्नुपर्छ‚ जसका कारण गर्भवतीको स्वास्थ्य अवस्था राम्रो बन्न सक्छ ।

गर्भवतीले नियमित परीक्षणका लागि अस्पताल जाँदा जोखिम बढ्ने उपाय कत्तिको हुन्छ ? यसका लागि कुनै वैकल्पिक उपाय अपनाउन सकिन्छ त ?
त्यस्तो हुदैन । अस्पताल जाँदा संक्रमण हुन्छ भन्ने होइन । यस कुरामा चाहिँ डराउनु पर्दैन । तर, सावधानी अपनाउनु चाहिँ अवश्य पर्छ । गर्भवतीलाई नियमित जाँचको भने एकदम आवश्यकता हुन्छ । त्यसैकारण जँचाउन चाहिँ अस्पताल जानैपर्छ । सामान्य अवस्थामा चेकअपका लागि नजाँदा पनि त्यति आवश्यक नहोला तर गर्भावस्था विशेष अवस्था भएकाले जाँच गर्ने र डाक्टरको सल्लाह लिने गर्नैपर्छ । अस्पतालमा त स्वास्थ्य मापदण्ड पालना भएकै हुन्छ । जाँदा‚ आउँदा आफूले विशेष ध्यान भने दिनुपर्छ ।

सकेसम्म स्वास्थ्य मापदण्ड अपनाएर मात्र जाने, भीड भएको ठाउँमा नजाने, गाडी वा सवारीसाधनको व्यवस्था गर्दा ध्यान दिने । कोरोना भनेको अस्पतालमा मात्रै छ भन्ने होइन‚ त्यहि भएर घरदेखि बाहिर निस्किसकेपछि नै विशेष ध्यान दिनुपर्छ । यी कुरामा ध्यान दिएर अस्पताल जाँदा त्यति समस्या नहोला ।

कोरोना संक्रमणको डरले गर्भवती अस्पताल नजाँदा फेरि अर्को जोखिम हुने खतरा रहन्छ । त्यसैले परीक्षणका लागि अस्पताल जानु अत्यन्तै आवश्यक छ ।

अहिले गर्भवतीमा पनि कोभिड संक्रमण भइराखेको छ । तर, त्यो परिवारकै सदस्यबाट भइरहेको पाइएको छ । गर्भवतीलाई घरपरिवार र समुदायबाट नै कोरोना संक्रमण हुने भएकाले यो कुरामा विशेष ध्यान दिन जरुरी छ ।

(डा. मिश्र परोपकार प्रसुती गृह थापाथलीकी प्रमुख हुन्)

प्रतिक्रिया