पाको उमेरका व्यक्तिहरूको स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक नेपालमा छैनन् (अन्तर्वार्ता)

काठमाडौँ । नेपालमा ज्येष्ठ नागरिक (पाको उमेर) को जनसङ्ख्या बढेको छ । औसत आयु बढेको कारणले ज्येष्ठ नागरिकको सङ्ख्या पनि बढेको हो । बालबालिकाहरूको जस्तै ज्येष्ठ नागरिकको स्वास्थ्य पनि संवेदनशील हुन्छ । यो उमेर समूहको खानपान जीवनशैली फरक हुने भएकाले हेरचाह र स्वास्थ्योपचार फरक भएको हो । तर ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्योपचारमा हाम्रो समाजमा प्रशस्त भ्रम र लापरबाही छन् । जसले ज्येष्ठ नागरिकहरूलाई सधैँ जोखिममा धकेलिरहेको हुन्छ ।

ज्येष्ठ नागरिकमा कुनै शारीरिक वा मानसिक समस्या आए सबैभन्दा पहिला बुढ्यौलीले गर्दा हो भनेर वास्ता गर्दैनौँ । जटिल लक्षण र अवस्था आएपछि मात्रै अस्पताल दौडन्छाैँ । यो नै सबैभन्दा ठुलो भ्रम र लापरबाही हो । काठमाडौँ मेडिकल कलेज सिनामंगलका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनन्त अर्यालले धेरैजसो ज्येष्ठ नागरिक रोगले च्यापेर धेरै जोखिम अवस्थामा पुगेपछि मात्रै अस्पताल वा चिकित्सकको सम्पर्कमा आउने गरेको बताए । मानिसलाई लाग्ने कतिपय रोग ४० वा ५० वर्ष कटेपछि मात्र देखिन्छन् । तर त्यसलाई बुढ्यौलीको सङ्केत भनेर टार्नु नहुने उनको सुझाव छ ।

रोगको उपचार गराउने भन्दा बुढ्यौली लाग्यो भनेर टार्नुले नै समस्या जटिल बन्ने डा. अर्यालले बताए । नेपालीहरूको जीवनशैली बदलिए पनि खानपान बदल्न नसकेको कारणले स्वास्थ्यमा सधैँ समस्या आइरहेको विभिन्न अध्ययनले देखाएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच न्युन शुल्कमा नियमित रुपमा गर्न सकिन्छ । तर हामी समस्या बल्झाएर हजारौँ खर्च गर्न तयार हुन्छौँ । हामीले नियमित चेकजाँच गर्ने हो भने ज्येष्ठ नागरिकमा देखिने विभिन्न रोगहरू उल्लेख्य घटाउन सकिन्छ । प्रस्तुत छः ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनन्त अर्यालसँग गरेको कुराकानीको सम्पादित अंश :-

नेपालमा पाका उमेरका व्यक्तिहरूको जनस्वास्थ्यको अवस्था कस्तो पाउनुभएको छ ?
अहिलेको तथ्यांकअनुसार नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो छ । अहिले १०.२ प्रतिशत ज्येष्ठ नागरिकहरू हुनुहुन्छ । ३० लाख जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य अवस्थाको कुरा गर्दा मैले नेपालमा के पाएको छु भन्दा यदि बच्चालाई सानो समस्या भयो भने पनि अस्पताल दौडिइहाल्ने । तर ज्येष्ठ नागरिकमा कुनै किसिमको शारीरिक, मानसिक होस्, जस्तो समस्या आए पनि सकभर यो चाहिँ बुढ्यौलीले गर्दाखेरि हो । उमेरले गर्दाखेरि हो । यो सामान्य नै हो भनेर बसिराख्ने । रोग जटिल भएपछि मात्रै अस्पतालमा आउने परिपाटी मैले देखेको छु । जसले गर्दा कतिपटक ज्येष्ठ नागरिकहरू उपचार गराउन आउँदा खेरी रोग धेरै बढेर आइसकेको अवस्थामा आइपुग्नु हुन्छ । अहिलेको अवस्थामा आउँदा प्रेसर, सुगरजस्ता रोगहरू पनि एकदमै बढिराखेको छ । सहरका व्यक्तिलाई मात्रै नभइकन प्रेसर, सुगरका समस्या चाहिँ गाउँघरका ज्येष्ठ नागरिकहरूमा पनि उत्तिकै मात्रामा देखिएको छ । हाम्रो अस्पतालकै कुरा गर्नुहुन्छ भने पनि सहर बाहिरका व्यक्तिहरु पनि धेरै नसर्ने रोगहरू लिएर आइराख्नुभएको छ ।

हाम्रो जीवनशैली असन्तुलित, जोखिमपूर्ण छ भनिन्छ, युवा अवस्थामा हामीले जुन हिसाबले काम गर्छाैँ, जुनखालको जीवनशैली अपनाउँछौँ, ज्येष्ठ अवस्थामा त्यसको असरले गरिरहेको हो कि के कारणले त्यस्तो भइरहेको छ ?
केही रोग छन्, जुन ६०/६५ वर्षपछि मात्रै लाग्छन् । तर केही रोगहरू ३०/४० कै उमेरदेखि सुरु हुन्छ र ती रोगहरू ज्येष्ठ नागरिकमा थुप्रिँदै जान्छन् । मधुमेह र उच्च रक्तचाप भनेको ६० वर्षभन्दा माथि मात्रै देखिने रोग होइन । यो भनेको ४० तिरैबाटशसुरु हुन्छ । अहिले त ३० तिरैबाट मधुमेह र उच्च रक्तचापका समस्या देखिन थालेको छ । यो हाम्रो जीवनशैलीले गर्दाखेरि नै हो । हाम्रो देश कृषिप्रधान देश हो । हाम्रो जीवनशैली पहिले खेतीपाती गर्ने थियो । अहिले हामी खेतीपाती गर्न छोड्यौँ । अहिले धेरैजना सहर केन्द्रित भयौँ । खेतीपाती छोड्दै जाने, सहर केन्द्रित हुने र एकदमै व्यस्त जीवनशैली हुने, तनाव व्यवस्थापन गर्न पनि गाह्रो हुने, त्यसमाथि खाना पनि परिवर्तन भएन । हामी जुनबेला खेतीपाती गथ्र्यौं, त्यही बेलाको खाना अझै हामी खाइरहेका छौँ । हामी ब्यालेन्स डाइट खान्छौँ ।

जस्तैः भात, दाल, तरकारी, अचार यो सबै हुँदाखेरी हामीले ब्यालेन्स डाइट त पाउँछौँ तर हाम्रो अहिलेको खानामा कार्बोहाइडेडको मात्रा, भात हामी धेरै खान्छौँ । हो, खेतीपाती गर्दाखेरि हामीलाई भात धेरै चाहिन्थ्यो । तर अहिले हाम्रो त्यस्तो परिश्रम छैन । त्यो अवस्थामा हामीलाई भात त्यति नै मात्रामा चाहिँदैन । खानामा कार्बोहाइडेडको मात्रा बढी हुनु, जंक फुडहरु धेरै खाने, त्यसले गर्दा मधुमेह, उच्चरक्तचाप, थाइराइडका समस्याहरू देखिराखिएका छन् । अहिले स्वास्थ्यको लागि राम्रो छ भनेर फलफूल, तरकारीहरू खान्छौँ । ती तरकारीहरू कति धेरै विषादी हालेर, किटनाशक औषधि हालेर उत्पादन भइराखेको छ हामीलाई थाहा छैन । त्यसले पनि हाम्रो रोगहरूलाई बढाइराखेको छ । उमेर बढ्दै जाँदा ३०/४० मा भएका रोगहरुपनि ६० वर्ष माथि हुँदा थपिँदै जाने । र ६० वर्षमाथिमा देखिने रोगहरू पनि थपिँदै जाँदाखेरि अहिलेको अवस्थाको ज्येष्ठ नागरिकलाई अझ गाह्रो भइरहेको छ । हाम्रो औसत आयु त बढ्यो । त्यो सँगसँगै रोगहरू पनि बढ्दै गइरहेको छ ।

अन्य देशको नागरिकको तुलनामा हाम्रो जीवनशैली असन्तुलित र जोखिमपूर्ण हो, मान्न सक्छौँ ?
हामीले अझै पनि हाम्रो खानामा ध्यान दिएका छैनौँ । हाम्रो परिश्रम परिवर्तन भयो । हाम्रो जीवनशैली परिवर्तन भयो । काम गर्ने तरिका परिवर्तन भयो त्यो हिसाबले खानपिन त परिवर्तन गर्नुपर्थ्यो नि त । कार्बोहाइटडेडलाई कम गरेर प्रोटिन, फलफूल, तरकारीलाई ज्यादा जोड दिनुपर्थ्यो । भात र रोटीलाई कम गरेर दाल, तरकारी, फलफूलहरूलाई बढाउनुपर्ने थियो । अझै पनि बढेको छैन । हामी अझै पनि भात धेरै नै खान्छौँ । जसले गर्दा मधुमेहको समस्या देखिइराखेका छन् । अर्को कुरा, सबैलाई तनाव बढाइराखेको छ । कोही पनि मानिसलाई एउटा मात्रै ठाउँमा काम गरेर नपुग्ने अवस्था छ । दुई, तीन ठाउँमा दौडिनुपर्दा त्यसले तनाव पनि बढाइराखेको छ । र प्रदूषण पनि त्यही अनुसारले बढिराखेको छ । प्रदूषणले पनि विभिन्न किसिमका रोगहरू निम्त्याउँछ । समग्रमा भन्नुपर्दा धेरै व्यस्त हुने र आफूलाई समय दिन नसक्दा, व्यायामको लागि, योग, प्राणायाम, ध्यानको लागि समय दिन नसक्दा त्यसले पनि रोगहरूलाई बढाइराखेको छ ।

अहिलेको अवस्थामा नेपालका ज्येष्ठ नागरिकमा देखिएका खास-खास समस्याहरू चाहिँ के-के हुन् ?
उच्च रक्तचाप, मधुमेह, थाइराइडका समस्याहरू, जुन नसर्ने रोगहरू छन् । यि रोगहरू ४०/५० बाट सुरु भएर ६०/७० सम्म यि थपिदैँ गइरहेका छन् । दमको समस्याहरू देखिँदै गइरहेको छ । त्यस्तै ज्येष्ठ नागरिकमा देखिने समस्या, अल्जाइमर्स रोग, विस्मृतिका रोग बढ्दै छ । डिमेन्सियाका समस्याहरू पनि देखिन्छ । पार्किन्सन्स रोगहरू । त्यस्तै आँखा देख्ने, कान सुन्न पनि कम हुनु । आँखामा मोतिबिन्दुहरु देखिने, कानको सुन्ने शक्ति पनि कम हुँदै जानु, उमेर बढ्दै जाँदाखेरि हड्डीहरु खिइने, घुँडाको समस्याहरू देखिन्छ । कम्मरको हड्डीहरु भाँच्चिने समस्याहरू पनि देखिन्छ । त्यसकारण थला पर्ने र समयमा त्यसको उपचार भएन भने विभिन्न समस्याहरू देखिन्छ । ज्येष्ठ नागरिक पुरुषहरुमा प्रोस्टेडको समस्याहरू पनि देखिन्छ । महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरका समस्याहरू र उमेर बढ्दै जाँदा विभिन्न क्यान्सरको जोखिम पनि बढ्छ । पेटको क्यान्सर, फोक्सोको क्यान्सर, कलेजको समस्याहरू पनि देखिन्छ । हर्टअट्याक हुने सम्भावना र अर्को मस्तिष्क घातको समस्याहरू पनि बढ्दै गएको देखेका छौँ ज्येष्ठ नागरिकहरूमा ।

प्रौढ नागरिकमा आउने यस्ता समस्याहरूमा हाम्रो उपचार पद्धति कस्तो छ ?
ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरूले पाइराख्नुभएको हुन्छ । उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरूले उपचार पाइराख्नुभएको हुन्छ । तर ६० वर्षभन्दा माथि देखिने रोगहरू, जस्तैः बिर्सिने समस्याहरू, पार्किन्सन्स रोगका समस्याहरू अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ । उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ । लामो समयदेखि खोकी लागिरहेको छ, बुढ्यौलीले गरेर खोकी लागिराखेको छ भनेर वेवास्ता भइराखेको छ । लामो समयदेखिको खोकी दम पनि हुनसक्छ । लामो समयदेखिको खोकी क्यान्सर पनि हुनसक्छ ।

लामो समयदेखि खोकी लाग्नु कतै फोक्सोको क्यान्सरको लक्षण पनि त हुनसक्छ । त्यो बढेर मान्छेले खाना खान छोड्ने, दुब्लाउँदै जाने र एकदमै अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा आएको हुन्छ । क्यान्सर अन्तिम चरणमा छ भने धेरै गर्न सक्ने त हुँदैन । तर समयमै अस्पताल आउनुभएको भए क्यान्सर पहिल्यै पत्ता लाग्थ्यो होला । म के भन्छु भने ज्येष्ठ नागरिकमा कुनैपनि किसिमको शारीरिक समस्या होस् । अथवा मानसिक समस्या होस् । कुनैपनि परिवर्तन देखियो भने चाँडै डाक्टरको परामर्शमा गयौँ भने हामीले धेरै रोगहरुको उपचार गर्न सक्छौँ ।

ज्येष्ठ नागरिकको उपचारको खर्च कत्तिको सुलभ छ ?
केएमसी (काठमाडौँ मेडिकल कलेज) को कुरा गर्नुहुन्छ भने यहाँ त यस्तो सजिलो छ, पचास रुपैयाँको नयाँ टिकटले र २५ रुपैयाँको फलोअप टिकले यहाँ विशेषज्ञलाई भेट्न सक्नुहुन्छ । मधुमेहकै कुरा गर्नुहुन्छ भने कतिजना बिरामी आइसियुमा भर्ना गर्नुपर्ने अवस्थामा आउनुहुन्छ । डेढ सय रुपैयाँ छ भने तपाईले सुगरको उपचार गर्न सक्नुहुन्छ । विशेषज्ञ डाक्टरसँग परामर्श लिएर के औषधि खाने, कसरी खाने तपाईले मलाई भेट्न सक्नुहुन्छ । डेढ सय रुपैयाँको लोभ गरेर सुगरको उपचार नै नगरेर कतिजना बिरामीहरू एकैचोटी आइसियुमा आइपुग्नु हुन्छ । यहाँ आउनुहुन्छ भने सुलभ तरिकाले उपचार हुन्छ । दमको समस्या छ भने पनि तपाईँहरू आएर उपचार गर्न सक्नुहुन्छ । थाइराइड, उच्च रक्तचाप, बिर्सिने रोगको समस्याको उपचार पनि यहाँ हुन्छ । अल्जाइमर्सको पनि यहाँ उपचार हुन्छ ।

डिमन्सिया लाग्न बित्तिकै उपचार सम्भव छैन भन्ने भ्रममा हुनुहुन्छ भने त्यो गलत हो । हामी यहाँ कसरी पनि उपचार गर्छौं भन्दाखेरी एउटै जेष्ठ नागरिकमा धेरैथरी रोगहरू पनि हुनसक्छ । हामी कम भन्दा कम औषधिले कसरी हुन्छ उपचारमा जान्छौँ । तपाई केएमसीमा आउनुभयो भने यहाँ एउटा ज्येष्ठ नागरिकलाई चाहिने सम्पूर्ण फ्याकल्टीहरु हाम्रोमा हुनुहुन्छ । मुटु रोग, कलेजो रोग, पेट सम्बन्धी रोग, नसा सम्बन्धी रोग, हाडजोर्नीको विशेषज्ञ पनि हुनुहुन्छ । एउटा ज्येष्ठ नागरिक केएमसिभित्र छिर्नुभयो भने उहाँलाई यहाँ पूर्ण उपचार गर्न सक्छौँ ।

प्रौढ अवस्थामा आउने समस्याहरुको घरेलु उपचार विधिहरू पनि केही हुन सक्छन् ?
ज्येष्ठ नागरिकहरू विभिन्न अवस्थामा हुन सक्नुहुन्छ । नेपालमा कानुनले ६० वर्षभन्दा माथिको नागरिकलाई ज्येष्ठ नागरिक भनेर पहिचान गराउँदछ । ६० वर्ष हुनासाथ सबै समस्या हुन्छन् भन्ने होइन । कोही ८० वर्षको भए पनि कुनै पनि औषधि नखाएको पनि हुन सक्नुहुन्छ । भनिन्छ नि रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमता हो । घरमा सन्तुलित आहार गरियो भने विभिन्न रोगबाट बच्नसक्छौँ । ज्येष्ठ नागरिकले भात, रोटी, अन्नलाई ज्यादा केन्द्रित गर्नुभन्दा पनि प्रोटिन, तरकारी, फलफूललाई ज्यादा जोड दिदाँखेरी राम्रो हुन्छ । अर्को भनेको, धेरै जना नेपालीहरुमा भिटामिन डि को कमी देख्छौँ । ज्येष्ठ नागरिकमा पनि त्यो देख्छौँ ।

दैनिक एकघण्टा घाम ताप्यौँ भने भिटामिन डि हाम्रो शरीरलाई पर्याप्त मात्रामा पुग्छ । त्यसो गर्दा भिटामिन डि, क्याल्सियमको कमी, हड्डी खिइने समस्याहरूबाट हामी जोगिन सक्छौँ । नियमित व्यायाम ग¥यौँ भने पनि मधुमेह, उच्च रक्तचापबाट बच्नसक्छौँ । दैनिक ३० मिनेट बिहान र ३० मिनेट बेलुका छुट्याएर हिँड्नुभयो भने पनि उच्च रक्तचाप, मधुमेह, हड्डीहरु कमजोर हुनेदेखि लिएर विभिन्न रोगहरुबाट बच्न सक्नुहुन्छ । त्यसकारण दैनिक हिँडडुल गरौँ । सक्नुहुन्छ भने नाचगान पनि गर्न सक्नुहुन्छ । नाँच्नुपनि शरीरको लागि एकदमै राम्रो हो । समूहमा भजन, किर्तनमा गएर नाच्नुभयो भने उहाँको शारीरिकलाई मात्रै होइन मानसिक अवस्थालाई पनि राम्रो बनाउनलाई मद्दत गर्छ ।

धेरै जना ज्येष्ठ नागरिक पुरुषहरु पिसाबको समस्याले निन्द्रा गडबढ् भएर, निन्द्रा गडबढ भएपछि त्यसले मधुमेह, उच्च रक्तचाप बढाएर पनि आउनुहुन्छ । त्यसकारण म उहाँहरूलाई के भन्न चाहन्छु भने पुरुषहरूमा उमेर बढ्दै गएपछि प्रोस्टेड ग्रन्थी बढेर त्यसले पिसाबको समस्या लिएर आउँछ । राती धेरैचोटी पिसाब गइराख्नु पर्ने त्यसको कारणले पनि हुनसक्छ । त्यसकारण यदि प्रोस्टेटको समस्या छ भने औषधि खाएर पनि नियन्त्रणमा राख्न सकिन्छ । राति धेरैचोटी पिसाबमा जानु परेन भने उच्च रक्तचाप र मधुमेह पनि कन्ट्रोल हुन्छ । जसलाई राति धेरैपटक पिसाब जाने समस्या छ, के कारणले हो त्यसको उपचार गराउनुपर्यो ।

दोस्रो घरेलु तरिका बिहान र दिउँसो मज्जाले पानी पिउने, साँझ पर्दै गइसकेपछि पानीको मात्रालाई एकदमै कम गर्ने । जुन औषधी बिहान, दिउँसो खान मिल्छ, त्यसलाई बिहान, दिउँसो नै खाने । रातिलाई नराख्ने । औषधि खाँदा पनि थोरै पानीले खाइयो भने राती धेरैचोटी पिसाबको लागि उठ्नु परेन । धेरै जनाको बानी राति पिसाब फेर्न उठिसकेपछि फेरि पानी खाएर सुत्ने । त्यो बानीलाई हटाउनुप¥यो । जसलाई राति धेरैचोटी पिसाब लाग्छ, उहाँहरुले साँझ परेपछि पेय पदार्थहरु चिया, कफी अथवा दुधको मात्रा घटाउने । निन्द्रा राम्रोसँग परेन भने त्यसले विभिन्न समस्याहरू निम्त्याउँछ । त्यही भएर ज्येष्ठ नागरिक ६ देखि ८ घण्टा गहिरो निद्रा हुन जरुरी छ । सन्तुलित खाना खानुहोला ।

घुँडाको समस्या छ भने उकालो–ओरालो धेरै नगर्नु होला । तर सम्मोमा हिँड्न सक्नुहुन्छ । जुन अवस्था छ त्यो अवस्थाको शारीरिक परिश्रम गरिराख्यो भने विभिन्न समस्याहरू हल हुन्छन् । कब्जियतको समस्या हुनेले सागपात र पानीको मात्रालाई बढाउनु होला । ओछ्यानमा परेका ज्येष्ठ नागरिकहरूलाई एकदमै ख्याल गर्नुपर्ने हुन्छ हामीले । दुई, दुई घण्टामा उहाँहरुको पोजिशन चेन्ज गरिराख्ने । ओछ्यान पर्नेलाई प्रोटिनको मात्रा बढी चाहिन्छ । युवा अवस्थामा हामीलाई एक ग्राम प्रतिकेजी प्रोटिन चाहिन्छ भने ओछ्यान परेको ज्येष्ठ नागरिकलाई डेढ ग्राम प्रतिकेजीसम्मको प्रोटिन चाहिन्छ । उहाँहरूलाई भात भन्दापनि प्रोटिनका चिजहरु अण्डा, मासु, गेडागुडी, ब्रोकाउली, गेडागुडीहरुलाई खान सकिन्छ । त्यसलाई जोड गर्नुहोला ।

ओछ्यान परेका ज्येष्ठ नागरिकलाई सुताइसुताइ केही पनि खान दिनुहुँदैन । सुतेको बेला पानी सर्किन्छ । सर्किएर हुने निमोनिया एकदमै कडा हुन्छ । त्यही सर्काइले नै मृत्युको कारणसम्म हुनसक्छ । तेल लगाइदिने, मसाज गरिदिने गरियो भने पनि घाउ हुने सम्भावना कम हुन्छ र दोस्रो भनेको रगत जम्ने सम्भावना पनि कम हुन्छ । उहाँहरूलाई फिजियोथेरापी गरियो भने पनि एकदमै राम्रो हुन्छ ।

ज्येष्ठ नागरिकहरूलाई कस्तो अवस्था आउँदा अस्पताल आइहाल्ने ?
ज्येष्ठ नागरिकमा कुनै पनि किसिमको शारीरिक र मानसिक समस्याहरू आएमा । हामी धेरै शरीरमा मात्रै समस्या भयो भने आउँछौ । तर ज्येष्ठ नागरिकमा मानसिक समस्या पनि उत्तिकै बढ्दो हुन्छ । एन्जाइटि, डिप्रेशनको समस्या पनि ज्येष्ठ नागरिकमा हामीले धेरै देखिराखेका हुन्छौँ । त्यही भएर ज्येष्ठ नागरिकमा कुनै पनि समस्या आयो । हप्ता, दश दिनमा ठिक भएन भने तुरुन्त अस्पताल आइहाल्नुस् । ज्येष्ठ नागरिकमा सङ्क्रमण नै भयो भने पनि सधैँ ज्वरो आउँछ भन्ने जरुरी छैन । किनभने रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आइसकेको हुनाले सबै सङ्क्रमणमा ज्वरो आउँछ भन्ने जरुरी छैन ।

ज्येष्ठ नागरिकको अवस्थामा अलिकति पनि परिवर्तन आयो भने यो कतै कुनै रोगको लक्षण त होइन भनेर समयमै उपचार गर्न आइयो भने त्यो रोग जटिल हुनबाट बचाउन सक्छौँ । जटिलतातिर गएन, सुरुवाती अवस्थामै भयो भने जुनसुकै रोग पनि उपचार गर्न सक्छौँ । समयमै उपचार गरियो भने खर्च पनि धेरै लाग्दैन । जटिल भइसकेपछि खर्च पनि बढ्छ । र त्यो रोग निको हुन पनि गाह्रो हुन्छ ।

अन्तिममा आम नागरिकहरूलाई यहाँको केही सुझाव छन् कि ?
खुसीको कुरा नेपालमा पनि ज्येष्ठ नागरिक रोगको विशेषज्ञ डाक्टरहरूको सङ्ख्याहरू बढ्दै छ । अहिले हामी चार जना छौँ नेपालमा । अरू डाक्टरहरू पनि आउँदै हुनुहुन्छ । त्यही भएर हजुरहरूकै विशेषज्ञ डाक्टरसावहरु नेपालमा हुनुहुन्छ भने उहाँहरूसँग सेवा लिनुहोस् । हजुरहरुको सेवाको लागि हामी तयार छौँ । तपाईहरुले हामीसँग आएर सेवा, परामर्श लिन सक्नुहुन्छ । हजुरहरुले जीवनशैलीलाई राम्रो बनाउनुहोस् । आफूले सकेको जति परिश्रम गरिराख्नुस् । तपाई जति सक्रिय हुनुहुन्छ, उहाँहरूलाई रोग लाग्ने सम्भावना त्यति कम हुन्छ । र लागेकै रोग पनि नियन्त्रणमा बस्छ । म बुढो भएँ । अब म केही गर्न सक्दिनँ । भनेर रिटायरमेण्टमा जानुभयो भने रोग लाग्ने समस्या पनि बढ्दै जान्छ । उमेर भनेको त केवल एउटा अंकमात्रै हो । तपाई आफूलाई जति जवान सम्झनुहुन्छ र जति सक्रिय भइराख्नु हुन्न नि, तपाई त्यति नै निरोगी हुनुहुन्छ । त्यति लामो आयु हुन्छ । त्यही भएर उमेर बढ्यो भन्दैमा, बुढ्यौली लाग्यो भन्दैमा अब मेरो दिन गए भन्ने चाहीँ नसोच्नु होला । हामीले जीवनशैलीलाई सक्रिय बनाइराख्यौँ, स्वस्थ जीवनशैली बनाइराख्यौँ भने बुढ्यौलीलाई स्वस्थ र खुसीयालीपूर्ण तरिकाले व्यतीत गर्न सक्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *