विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने– ‘सदनको विवेकमाथि पूर्ण रुपमा भरोसा गर्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । संसद्मा बोल्दै प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । ‘वर्तमान सरकारले राष्ट्रियताको सन्दर्भमा सबै काम गरेको छ,’ प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै भने– ‘वर्तमान सरकारलाई त्यति नै अविश्वास गर्नुपर्ने कारण देखिँदैन । कारण छैन ।’

प्रधानमन्त्री ओलीले सदनको विवेकमाथि पूर्ण रुपमा भरोसा गरेको बताए । ‘अहिलेको सरकारको विरुद्धमा कसले हस्ताक्षर गर्छ होला र सभामुख महोदय ?,’ प्रधानमन्त्री ओलीले भने– ‘सबै माननीयज्यूहरुले मलाई मत दिनुहुन्छ भन्ने लागेको छ । मत दिनुस् । म छँदाछँदै अरु कसैलाई यो सदनले प्रधानमन्त्री बनाउँछ भन्ने म कसरी सोच्न सक्छु र ?’

प्रधानमन्त्री ओलीले थप भनेका छन्– ‘संलग्तामा होइन, सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ आएका छौँ, जनताको भावना र हितहरुको प्रतिनिधित्व गर्छौँ । यस्तो अवस्थामा हामीले आफ्नो स्वार्थहरुबाट निर्देशित भएर होइन, आवद्धता वा संलग्नतालाई होइन, सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ । यदि हामीलाई सत्यलाई नै पछ्याउँछौँ भने वर्तमान सरकार कुनै हिसाबले विश्वास नगर्नपर्ने सरकार होइन । राष्ट्रियताको सवाल, राष्ट्रियको सम्वर्द्धनको सवालमा, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय हितलाई माथि लाने सन्दर्भमा वर्तमान सरकारले कुनै कसर बाँकी राखेको छैन । सत्य आफैं बोल्छ । सत्यहरु आफैं देखिन्छन् । तस्बिर आफैं बोल्छ भनेजस्तै हामीले गरेका काम आफैं देखिन्छन् ।’

प्रधानमन्त्रीले ओलीले आज विश्वासको मत लिँदैछन् । संसदीय अंकगणित हेर्ने हो भने प्रधानमन्त्रीले विश्वासको मत लिने सम्भावना न्यून छ । अब यदि प्रधानमन्त्रीले विश्वासको मत लिएनन् भने स्वतः राजीनामा दिनुपर्छ ।

बैठकमा विपक्षी एमाले भने अनुपस्थित भएको छ भने महन्थ ठाकुर–राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टीले पनि तटस्थ रहने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया