प्रतिक्रियाविहीन बन्यो बालुवाटार, निर्णायक छलफलमा नेपाल समूह

काठमाडौं । एमालेभित्र माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले केपी शर्मा ओली पक्षलाई दिएको ‘डेडलाइन्’ घर्किएको छ । तर, ओली पक्षले कुनै ‘रेस्पोन्स’ गरेको छैन । बालुवाटारबाट कुनै रेस्पोन्स नआएपछि नेपाल–खनाल पक्षको बैठक बस्दैछ । सांसद मेटमणि चौधरीकाअनुसार नेपाल–खनाल पक्षका सांसदहरुको बैठक बस्दैछ । ‘अहिलेसम्म उताबाट कुनै प्रतिक्रिया आएको छैन,’ सांसद चौधरीले मकालु खबरसँग भने– ‘अब हामी आफूअनुकूल चल्छौँ, सामूहिक राजीनामाकै कुरा अगाडि बढ्छ होला ।’

नेपाल–खनाल पक्षले यसअघि आइतबार साँझ मिल्न सकिने भन्दै पार्टी अध्यक्ष ओलीलाई ६ बुँदे पत्र पठाएको थियो । पत्रमा ०७५ जेठ २ मा फर्किनुपर्ने, ०७७ फागुन २८ यता भएका कुनै पनि निर्णय रद्द गर्नुपर्नेलगायतका सर्तहरु छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले सोमवार (आज) दिउँसो १ बजे सदनबाट विश्वासको मत लिँदैछन् । एमालेले यो विषय संसद् बैठकअगावै टुङ्ग्याउन चाहेको छ । तर, अहिलेसम्म दुवै पक्षले ठोस कदम भने चालिसकेका छैनन् । यता एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले भने ओलीले विश्वासको मत पाउनेमा आफूलाई विश्वास रहेको र विश्वासको मत नै नपाएपनि संविधानबमोजिम अगाडि बढ्ने बताउँछन् । भन्छन्– ‘मलाई विश्वास छ, प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । यदि केहीगरी लिनुभएन भने पनि संवैधानिक बाटोबाट अगाडि जाने हो । राष्ट्रपतिज्यूले नयाँ सरकारको लागि आह्वान गर्नुहुन्छ ।’

प्रतिक्रिया