प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्कापक्की !

काठमाडौं । महन्थ ठाकुर र राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टी (जसपा) पनि तटस्थ बस्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाउने पक्कापक्की जस्तै भएको छ । मकालु खबरसँग नेता महतोले भने‚ ‘हामी तटस्थ नै बस्ने भयौँ । कसैलाई समर्थन पनि गर्दैनौँ, कसैका विरुद्ध मत पनि दिँदैनौँ ।’

प्रधानमन्त्री ओलीले वैशाख २७ अर्थात् भोलि सदनबाट विश्वासको मत लिँदैछन् । यो मतदानमा, जसपाको ठाकुर–महतो पक्षले ओलीको साथ दिने ठानिएको थियो ।

जसपाको बाबुराम-उपेन्द्र पक्ष ओलीको विपक्षमा रहेपनि ठाकुर-महतो पक्षले ओलीलाई समर्थन गर्ने आकलन भइरहेका बेला यो पक्ष पनि तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत नपाउने पक्कापक्की भएको हो ।

आइतबार (आज) प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर–महतोले प्रधानमन्त्रीलाई पनि यो जानकारी गराएका छन् । ‘हामीले प्रधानमन्त्रीलाई पनि यही सुनाएका छौँ, हामी प्रधानमन्त्रीेविरुद्ध मत दिन पनि सक्दैनौँ, किनकी केही भएपनि हाम्रा मागको सम्बोधन भएको छ‚’ महतोले भने ।

महतोका अनुसार भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंहरुको माग पूरा हुने प्रक्रिया शुरु भइसकेको छ, बाँकी माग पूरा गर्नेतिर पनि सरकार जान्छ‚’ भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा आफूहरुले ‘हाम्रा माग सबै पूरा भएका छैनन् । त्यसैले हामी तटस्थ नै बस्ने भएका हौँ,’ भन्ने जवाफ दिएको महतोले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्नुअघि ठाकुर र महतोले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका थिए । बुढानीलकण्ठमा भएको भेटमा देउवाले विपक्षी गठबन्धनलाई मत दिन अनुरोध गरेका थिए । ‘उहाँ (देउवा) ले पनि विपक्षी गठबन्धनमा मत दिन भन्नुभयो,’ महतोले भने‚ ‘तर, हामीले उहाँलाई पनि तटस्थ नै बस्ने भनेका छौँ ।’
भोलि हुने तय भएको मतदानसम्म यही अडानमा महतो–यादव पक्ष कायमै रहे ओलीलाई बहुमत पुग्ने छैन ।

प्रधानमन्त्रीले विश्वासको मत पाउने नेम्वाङ्गको दाबी
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने प्रधानमन्त्रीले विश्वासको मत पाउने विश्वास व्यक्त गर्छन् । भन्छन्‚ ‘जहाँसम्म लाग्छ‚ प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ र पाउनुहुन्छ । हामीले केहीबेरमा सूचना जारी गर्दैछौँ, ह्वीप लगाउँदैछौं । त्यसपछि कस्तो वातावरण बन्छ‚ त्यसले पनि भूमिका खेल्ला ।’

तर, संसद्मा भने सत्तारुढ एमाले अल्पमतमै छ । एमालेसँग प्रतिनिधि सभामा जम्मा १२१ सांसद छन् । सदनबाट विश्वासको मत लिन १७० सदस्यीय संसद्‌बाट १३६ मत पाउनुपर्छ । ५ सदस्य कारबाहीमा परेसँगै १७० सदस्यीय बनेको प्रतिनिधि सभामा विपक्षी एमालेका ३५ सांसद छन् । उनीहरुले ओलीलाई मत दिनुभन्दा बरु सामूहिक राजीनामा दिने बताइसकेका छन् । यसका लागि उनीहरुले हस्ताक्षर संकलन नै गरिसकेका छन् ।

यता ओलीलाई सत्ताच्यूत गर्ने सही समय आएको विश्लेषणसहित बसिरहेका कांग्रेस, माओवादी, भट्टराई–यादवपक्षीय जसपा बहुमत पुर्‍याउने तयारीमा छन् । नेपाल-खनाल पक्षले राजीनामा गरे विपक्षी गठबन्धनको बहुमत पुग्छ ।

प्रतिनिधि सभामा कांग्रससँग ६१, माओवादीसँग ४९, भट्टराई–यादवपक्षीय जसपासँग १८ सांसद छन् ।

प्रतिक्रिया