उपत्यकामा बिहीबारदेखि निषेधाज्ञामा कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञामा कडाइ गरिएको छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाएको निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढेपछि निषेधाज्ञामा कडाइ गरिएको हो ।

बुधबारसम्म बिहान-बेलुका नै पसल खुला गरिएपनि बिहीबारदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइनेगरी आदेश जारी भएको छ ।

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइनेछ ।

खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्नेछ ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

आदेश २९ गते राति १२ बजेसम्म कायम रहनेछ ।

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ संक्रमण फैलिएको र उपत्यकामा त्यसको बढ्दो प्रभाव रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महशुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

यसपटक भने फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार-व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ ।

आदेशमा उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस चाहिने भएको छ ।

प्रतिक्रिया