प्रदेश १ मा अझै बनेन होल्डिङ सेन्टर, निर्णय भयो कार्यान्वयन भएन

विराटनगर । प्रदेश सरकारको कोरोना संकट ब्यवस्थापन केन्द्र, प्रदेशको बैठकले तत्काल होल्डिङ सेन्टर निर्माण गर्ने भनी गरेको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत कार्यान्वायन हुनुपर्ने होल्डिङ एरिया निर्माणको काम अन्यौलमा परेको हो ।

मन्त्रालयका सचिव राजेन्द्र पौडेलले कोभिड रोकथाम तथा नियन्त्रणका लागि भारतबाट आउनेलाई राख्नका लागि ४ स्थानमा होल्डिङ सेन्टर निर्माण गर्न लागिएको बताए । सचिव पौडेलका अनुसार भारतीय सीमासँग जोडिएको विराटनगर, काँकडभिट्टा, भान्टाबारी र पशुपति नगरमा र काठमाडौं र तराईको प्रवेशद्वार ओखलढुंगाको हर्कपुरमा समेत होल्डिङ सेन्टर बनाउने निर्णय भएको थियो ।

होल्डिङ सेन्टरको जिम्मेवारी पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मान्त्रालयले यसलाई अघि बढाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको भएपनि कुनैपनि जिल्लामा काम अघि बढेको छैन ।

‘पिसिसिएमसीको निर्णयलगत्तै हामीले निर्णय कार्यान्वायनका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छौँ,’ सचिव पौडेलले भने, ‘केही जिल्लामा काम अघि बढेको छ भने मोरङ जिल्लामा पुरानो ठाउँमा कुरा नमिल्दा काम अघि बढ्न सकेको छैन ।’

पिसिसिएमसीको बैठकले गरेको निर्णयसमेत कार्यान्वयन हुन नसक्दा अहिले सिमावर्ती क्षेत्रका नागरिक जोखिममा परेका छन् । सीमाबाट आएकाहरू कहाँ पुग्छन् भन्ने रेकर्डसमेत नभएकाले विराटनगरमा संक्रमणदर बढेको निष्कर्ष विराटनगर महानगरपालिकाको छ । ‘भारतबाट आएकाहरूमा दैनिक ११ जनाभन्दा बढीमा एन्टीजेन परीक्षण पोजेटिभ देखिएको छ,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘होल्डिङ सेन्टर बनाउने जिम्मेवारी पाएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले सेन्टर निर्माणमा ध्यान नदिँदा विराटनगरमा जोखिमको दर बढ्दो क्रममा छ ।’

विराटनगर महानगरपालिकाका मेयर पराजुलीले होल्डिङ एरिया नबनाएको अवस्थामा संक्रमण देखिएका व्यक्तिलाई महानगरपालिकाभित्रका जो सुकैलाई तत्काल बैजनाथपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन केन्द्रमा राख्नेगरी तयारी थालिएको बताए ।

मोरङमा होल्डिङ सेन्टर निर्माणको काम थाल्न नै समस्या भएको छ । यसअघि प्रदेश सरकारले राखेको डिएभी स्कुलमा विद्यालय संचालकसँग कुरा नमिल्दा त्यहाँ होल्डिङ सेन्टर राख्न नदिने अवस्था छ । भाडामा कुरा नमिल्दा विद्यालय संचालकले डिएभी स्कुलमा होल्डिङ सेन्टर बनाउन नदिने वा दिनै परेपनि भाडा बढाउने भनेपछि समस्या भएको मन्त्रालय श्रोत बताउँछ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले तत्काल एक हजार शय्याको भवन संचालन गर्न सकिने अवस्था नरहेको बताए । ‘अहिले ५० शय्याको रानी र बहेन्द्र मोरङ कलेजको बिचमा रहेको रमेश यादवको घरलाई होल्डिङ सेन्टरको रुपमा संचालनका लागि सम्पूर्ण आन्तरिक काम सकिएको छ,’ पोखरेलले भने, ‘तत्काल भाडामा लिइएको घरका लागि चाहिने आवश्यक रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग माग गरिएको छ, स्वीकृत हुनासाथ शुरु हुन्छ ।’

विराटनगर जुट मिल्समा रहेको जग्गा र संरचनामा होल्डिङ सेन्टर निर्माण गर्ने भनिएपनि त्यहाँ समय लाग्ने भएपछि व्यक्तिको घर हेरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ । होल्डिङ सेन्टर निर्माणका लागि लाग्ने लागतको स्टिमेट तथा योजनासहितको विवरण पठाइएको भएपनि मन्त्रालयले रकम निकासा उपलब्ध नगराएको हो ।

विद्यालयमा होल्डिङ सेन्टर नराख्ने भन्ने निर्णयअनुसार सरकारले यसअघि संचालनमा ल्याएको डिएभीको स्कुलमा भने संचालन नगरेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

झापामा सेनाले काम थाल्यो
विराटनगरमा होल्डिङ सेन्टर निर्माण हुन नसकेको अवस्थामा झापामा भने सेनाले काम थालेको छ । विराटनगरमा पहिलो चरणमा १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने भनेर गरिएको निर्णय आफ्नै माताहतका निकायले काम नगर्दा कार्यान्वायन हुन नसकेको अवस्थामा झापामा भने एक हजार क्षमताको नै होल्डिङ सेन्टर निर्माणले तीव्रता पाएको हो । अघिल्लो वर्ष निर्माण भएको काँकडभिट्टा माविको चौरमा यो वर्ष पनि होल्डिङ सेन्टर अस्थायी रुपमा बनाउन थालिएको हो ।

‘सबै प्रदेशमा एकरुपता बनाउने बारेमा पनि कुरा भएकाले केन्द्रको निर्णय पर्खिएर बसेका छौँ,’ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले मकालु खबरसँग भने, ‘तत्काललाई त्रिपाल तथा टेन्ट राखेर शुरु भएको छ, पुलमा पनि होल्डिङ एरिया बनाइएको छ।’

पुलमा हेल्थ डेस्कसहितको होल्डिङ सेन्टर सानो रहेकाले स्कुलमा बृहत् रुपमा बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । शुरुमा एक हजार क्षमताको बनाउने भनिएको भएपनि अहिले भारतबाट नेपाल प्रवेश गर्ने दर कम हुँदै गएकाले त्यो संख्या घट्न सक्ने तिमिल्सिनाले बताए ।

‘जिल्ला प्रशासन कार्यालयले ठाउँ उपलब्ध गराउनेबारे क्याबिनेटबाट भएको निर्णयअनुसार हामीले ठाउँ उपलब्ध गराएका छौं,’ उनले भने, ‘सेनाले अस्थायी संरचना निर्माण गर्ने काम शुरु गरिसकेकाले एक–दुई दिनभित्रैमा निर्माण पुरा हुनेछ।’

काँकडभिट्टा नाकामा पनि सर्वसाधारणको चहलपहल घटेको छ । शुरुका दिनमा ५ सयको हाराहारीमा लाइन लागेर नेपाल प्रवेश गर्दै आएकोमा हिजोसम्ममा दैनिक २ सय जना नेपाल प्रवेश गरेका छन् । भारतबाट आएकाहरुलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको विवरण संकलन गर्ने, एन्टीजेन टेस्ट गर्ने र पठाउने गरिएको छ । अहिलेसम्म पब्लिक बसमा पठाउने गरिएकोमा अबका केहि दिनदेखि सम्बन्धित ठाउँसम्म नै एउटै गाडीले पुर्‍याउने व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया