वर्तमान राजनीतिक खिचातानी हेर्न नसकेर राजीनामा दिएँ : सांसद पाण्डेय

कठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट भर्खरै राजीनामा दिएका प्रदेश सभा सदस्य दूग नारायण पाण्डेले राजनीतिक चलखेल मात्रै बढी भएपछि आफू राजीनामा दिने निष्कर्षमा पुगेको बताएका छन् । राजीनामा दिएलगत्तै मकालु खबरसँग संक्षिप्त कुराकानी गर्दै सांसद पाण्डेयले अहिले चलिरहेको राजनीतिक चलखेल हेर्न नसकेर आफूले राजीनामा दिएको बताएका छन् । ‘नेताहरुले राजनीतिक चलखेलबाहेक केही गर्न जानेनन्,’ सांसद पाण्डेयले भने– ‘मैले हेर्न नसकेर राजीनामा दिएँ ।’

निर्वाचित नेताहरु जनताको सेवामा लाग्नुको साटो राजनीतिक खिचातानीमा भुलेको आफूले हेर्न नसकेको सांसद पाण्डेको भनाइ छ । उनले भने– ‘निर्वाचित भइसकेपछि जनताहरुको सेवामा खट्ने अभिभारा सांसदहरुको भएपनि त्यस्तो भएन । हिजो निर्वाचनताका जुन खालको कुराहरु भनिएको थियो । त्योतर्फभन्दा आफ्नै स्वार्थसिद्धमा लागे नेताहरु । मैले चाहिँ राजीनामा दिएँ । अब राजनीति जता गएपनि जाओस् ।’

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि भाँडिएको प्रादेशिक राजनीति अहिले उत्कर्षमा पुगेको छ । त्यहाँ सांसद विमलाकुमारी खत्रीले माओवादी केन्द्र रोजेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको छ । यद्यपि उनी, बहुमत दलकै नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्ति भइसकेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ र जसपाका ४ सांसद कारबाहीमा परेसँगै ८१ सदस्यीय बनेको सभामा बहुमतका लागि ४१ सदस्य चाहिन्छ । खत्रीले माओवादी रोजेपछि अहिले विपक्षी दलहरु र एमालेको संख्यात्मक संसदीय हैसियत उस्तै उस्तै देखिन्छ ।

प्रतिक्रिया