लुम्बिनी प्रदेश सभा सदस्य पाण्डेयद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य दूग नारायण पाण्डेयले राजीनामा दिएका छन् । सांसद पाण्डेयले सभामुखलाई   सम्बोधन गरी पत्र लेख्दै आजैको मितिबाट लागू हुनेगरी राजीनामा दिएका हुन् । ‘मैले राजीनामा दिइसकेँ । अब राजनीति जहाँ गएपनि जाओस्,’ सांसद पाण्डेयले मकालु खबरसँग भनेका छन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद पाण्डेय नेकपा एमालेबाट निर्वाचित भएका हुन् । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि भाँडिएको प्रादेशिक राजनीति अहिले उत्कर्षमा पुगेको छ ।

त्यहाँ सांसद विमलाकुमारी खत्रीले माओवादी केन्द्र रोजेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको छ । यद्यपि उनी, बहुमत दलकै नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्ति भइसकेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ र जसपाका ४ सांसद कारबाहीमा परेसँगै ८१ सदस्यीय बनेको सभामा बहुमतका लागि ४१ सदस्य चाहिन्छ । खत्रीले माओवादी रोजेपछि अहिले विपक्षी दलहरु र एमालेको संख्यात्मक संसदीय हैसियत उस्तै उस्तै देखिन्छ ।

प्रतिक्रिया