शंकर पोखरेलसँग बहुमत नभएको दाबी, ४० सांसदद्वारा प्रदेश प्रमुखलाई निवेदन

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलसँग एकल सरकार गठन गर्ने बहुमत नभएको दाबी गर्दै लुम्बिनी प्रदेशका ४० सांसदले प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् । एमालेको एकल सरकार गठन गर्ने तयारी भइरहेको बेला ४० सांसदले प्रदेश प्रमुखसमक्ष शपथ रोक्न लिखित निवेदन बुझाएका हुन् ।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपालगायतका सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर आफ्नो पक्षमा ४० सांसद रहेको दाबी गर्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग गरेका हुन् ।

८७ सदस्यीय प्रदेश सभामा माओवादीका २ र जसपाका ४ सांसद कारबाहीमा परेसँगै ८१ सदस्यीय बनेको सभामा बहुमतका लागि ४१ चाहिन्छ । तर, तत्कालीन नेकपाबाट निर्वाचित विमलाकुमारी खत्रीले माओवादी केन्द्र रोजेपछि एमालेको बहुमत गुमेको हो ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादीबीच भएको एकतालाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो ।

त्यहीअनुसार आफूले दल रोजेको खत्रीले बताएकी छन् भने एमालेले सांसद खत्री अपहरणमा परेको बताएको छ । यता माओवादी केन्द्रले भने सांसद खत्री आफूसँगै रहेको दाबी गरेको छ ।

प्रतिक्रिया