कक्षा ८ को परीक्षा दुई सिफ्टमा

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका र तनहुको बन्दीपुर गाउँपालिकाले कक्षा ८ को परीक्षा दुई सिफ्टमा संचालन गर्ने भएका छन् । पथरी सनिश्चरे नगरपालिकाले एक सुचना जारी गर्दै कोभिडको महामारीका कारण चाँडो परीक्षा सम्पन्न गर्नु पर्ने भएकोले दुई सिफ्मा परीक्षा संचालन थालेको हो ।

कोभिड-१९ जोखिम न्यूनिकरण नगर समन्वय समितिको वैशाख १३ गतेको बैठकको निर्णयले सबै किसिमका परीक्षा चाँडो सक्ने निर्णय भएअनुसार जेठ २ गतेदेखि हुने भनिएको आधारभुत तह कक्षा ८ सम्मको परीक्षा बिहिबारदेखि २ सिफ्टमा शुरु भएको हो । बिहान १० बजे र दिउँसो १:३० बजे गरी दुई सिफ्टमा परीक्षा शुरु भएको नगरपालिकाका नगर शिक्षा अधिकारी नविन खुलालले जानकारी दिए । कोभिडको त्रास बढ्दै जाँदा विद्यार्थीलाई सुरक्षित गराउन र परीक्षा पनि नरोक्नको लागि एकैदिन दुई सिफ्टमा परीक्षा संचालन गरिएको खुलालको भनाइ छ ।

उता तनहुको बन्दीपुर गाउँपालिकाले पनि आधारभुत तह कक्षा ८ को परीक्षा दुई सिफ्टमा नै संचालनको तयारी गरेको छ । आइतबारदेखि हुने परीक्षा दुई चरणमा हुनेछ । बिहान १० बजे र दिउँसो १ बजे तथा कतिपय परीक्षा दिउँसो दिउँसो १ः१५ र ४ः१५ मा पनि संचालन गर्ने गाउँ गाउँपालिकाले निर्णय गरेको छ ।

बन्दीपुर गाउँपालिकाका शिक्षा अधिकृत बिष्णु खत्री क्षत्रीका अनुसार गाउँ पालिकाको बैशाख १५ गतेको निर्णय अनुसार दुई चरणमा परीक्षा संचालन गर्ने तयारी भएको हो । दुई सिफ्टमा परीक्षा संचालन हुँदा समय कम लाग्ने भएकोले चाँडो परीक्षा सक्नको लागि यो निर्णय भएको हो ।

प्रतिक्रिया