प्रदेश १ : कोभिडको महामारीमा सामाजिक विकास समिति निष्क्रिय, सदस्यद्वारा आलोचना

विराटनगर । प्रदेश सभाको मिनी संसद भनेर चिनिने संसदीय समितिको आलोचना हुन थालेको छ । कोभिड महामारीको बिचमा पनि कुनै पनि गतिविधि गर्न नसेको भन्दै समितिका सदस्यबाट नै समितिको काम कारबाहीको बारेमा आलोचना हुन थालेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सामाजिक विकास समितिका सदस्य केदार कार्कीले सामाजिक विकास समितिले कामै गर्न नसकेको बताएका हुन् । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक कार्कीले संसदीय समितिहरू सरकारको छायाँ भएको बताएका हुन् ।

कोभिड- १९ महामारी फैलिएका बेला सक्रिय हुनुपर्ने समिति निष्क्रिय भएको भन्दै तत्काल यस्ता विषयमा अनुगमन हुनुपर्ने र समितिले निर्देशन दिनुपर्नेमा त्यस्तो नभएको बताए । ‘सामाजिक समितिले अस्पतालको अनुगमन, कोभिड रोकथाम र उपचारका लागि सरकारलाई निर्देशन दिनुपर्ने हो,’ उनले भने, ‘अहिले यी विषयमा समितिले कामै गर्न सकेको छैन, समितिहरु सरकारको छायाँ भए ।’

No description available.

संसदीय समिति निष्क्रिय हुनुलाई उनले सरकार पक्षीय सांसदहरुको उपस्थिती नहुनुलाई लिएका छन् । ‘पछिल्लो राजनीतिक गतिरोधपछि सरकारका खम्बाहरू (सांसद) बैठकमा नै आउँदैनन्,’ प्रमुख सचेतक कार्कीले भने, ‘सभापतिलाई असफल गराउने र निष्क्रिय बनाउने उद्देश्यबाट प्रेरित छन् ।’ सामाजिक विकास समितिले स्वास्थ्य सावधानी, अस्पतालहरूको अनुगमन र व्यवस्थापनसम्बन्धी विषयहरूमाथि तत्काल सम्बोधन गर्नुपर्ने भएपनि समितिले त्यसमा कामै गर्न नसकेको बताउँदै आएको छ ।

प्रमुख सचेतक कार्कीले कोभिडका कारण ठूलो महामारी आउनै लाग्दा पनि प्रदेश सरकारले कुनै योजना नबनाएको समेत आरोप लगाएका छन् । सरकार कोरोना बढाउने अभियानमा लागेको र त्यसबाट पैसा कमाउने उद्देश्य रहेको उनको आरोप छ ।

‘पूर्वतयारी र सावधानीका लागि गर्नुपर्ने पर्याप्त कामहरू समेत भएको छैन,’ उनले भने, ‘पूर्व सावधानीका उपायहरू नगरी लकडाउन गर्छु भन्नु गलत हो ।’ भीड नियन्त्रणमा चासो नदिएको, हाट बजारहरू लागिरहँदा पनि बेवास्ता गरिएको, महामारीका बिचमा सबैसँग हुनुपर्ने नियमित छलफलमा सरकारले नबोलाएको लगायतका कारण कोरोना नियन्त्रणमा प्रदेश सरकारसँग कुनै योजना नै नभएको कार्कीको आरोप छ ।

प्रतिक्रिया