खुलामञ्चकाे बसपार्क वैशाख १५ देखि हटाइँदै, ‘पिक एन्ड ड्रप’ प्रणालीमा बस चलाइने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुला मञ्चमा सञ्चालनमा रहेको सिटी बसपार्क वैशाख १५ देखि हटाउने भएको छ । बसपार्क हटाएर खुला मञ्चलाई पहिलेकै प्रयोजनमा ल्याउन महानगरले यस्तो व्यवस्था गर्न लागेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षमा बिहीबार यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हाल सञ्चालनमा रहेको बसपार्कको विकल्पका रुपमा गोंगबु बसपार्कलाई प्रयोग गरिने भएको छ । मध्यम दूरीका बसले गोंगबु बसपार्क प्रयोग गर्ने र छोटो दूरीका बसले यात्रु चढाउने र ओराल्ने अर्थात् ‘पिक एन्ड ड्रप’ प्रणालीअनुसार टुँडिखेल, रत्नपार्कलगायत मुख्य क्षेत्रमा चलाइने भएको छ । महानगरपालिकाले यस्तो निर्णय गरेपछि अब कुनै पनि बसले रत्नपार्क क्षेत्रमा पार्किङ गर्न पाउने छैनन् ।

पिक एन्ड ड्रप प्रणालीमा गाडी चलाउन पनि सवारी सेवा प्रदायक कम्पनीहरुबाट आवेदन माग गर्ने र आवदेनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले समन्वयमा दिएको स्वीकृतका आधारमा चलाइने छ ।

यसअघि रत्नपार्कको पूर्वपट्टी रहेको पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माण हुने भए पनि उक्त बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । तर, खुलामञ्च नै कुरुप देखिएको बसपार्कका कारण शहरको मूल्य क्षेत्रको आवागमन व्यवगस्था अस्तव्यस्त भएको भन्दै अब सार्वजनिक यातायात सञ्चालनका लागि ‘पिक एन्ड ड्रप’ प्रणाली अपनाउने लागिएको हो ।

प्रतिक्रिया