शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट बढेको भन्दै सरकारले शहरी क्षेत्रसँगै अति प्रभावित जिल्लाहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । ‘शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको हो,’ प्रवक्ता गुरुङले भनेका छन् ।
त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारलगायतका मानिसको भीड हुने ठाउँसमेत सरकारले बन्द गर्न आह्वान गरेको छ ।
जिल्लास्थित डीडीएमसीको सिफारिसबमोजिम विद्यालयहरु बन्द हुने प्रवक्ता गुरुङको भनाइ छ । उनकाअनुसार शैक्षिक गतिविधि भने वैकल्पिक माध्यमद्वारा लगातार हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।








