जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ : माधव नेपाल

बनेपा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सङ्गठन, विचार, सिद्धान्त र नीतिलाई जोगाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् । नेपाल पक्षका एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आइतबार बनेपामा आयोजना गरेको पार्टीको विस्तारित बैठकमा उनले पार्टी नेतृत्व नीति, सिद्धान्त र विचारबाट नभई व्यक्तिगत ढङ्गले चलेको आरोप लगाए ।

अहिले पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि नै आफूले निरन्तर सङ्घर्ष गरिरहेको र पार्टीका नेता तथा कार्यकर्तालाई आदर्श, सिद्धान्त, नीतिका पक्षमा लाग्नका लागि आग्रह गरिरहेको उनले बताए । ‘कम्युनिस्ट पार्टीमा विचार र नीति प्रधान हुन्छ, व्यक्ति प्रधान होइन’, उनले भने, ‘जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ ।’

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले सिद्धान्तबिनाको कम्युनिस्ट पार्टी चलाउन खोजिरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्रलाई धरापमा पारेर अगाडि बढ्न खोजिरहेको बताइन् । उनले जिम्मेवारी बाँडफाँट, जिल्ला कमिटीको घोषणा, पालिकासम्मको कमिटी घोषणा भएकालाई स्वागतयोग्य कदम भएको उल्लेख गर्दै सबै तहका नेता कार्यकर्तालाई जवाफदेही र जिम्मेवारीका साथ आफ्नो क्षमताअनुसार लाग्न निर्देशन दिइन् । रासस

प्रतिक्रिया