‘सञ्चारमाध्यमको निम्तोले सर्वदलीय बैठकमा गइन्न’

कठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले सञ्चारमाध्यमबाट दिइएको निम्तोको आधारमा आफूहरु सर्वदलीय बैठकमा नजाने बताएका छन् । मकालु खबरसँग कुराकानी गर्दै नेता पोखरेलले बैठकको लागि आधिकारिक सूचना आउनुपर्ने तर, सञ्चारमाध्यममा दिइएको समाचारका आधारमा बैठकमा नजाने बताएका हन् । ‘सञ्चारमाध्यमबाट सूचना दिएर हुँदैन, समाचार दिएर हुँदैन,’ नेता पोखरेलले भने, ‘आधिकारिक सूचना आउनुपर्छ ।’

यसअघि शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका थिए । एमाले प्रमुख सचेतक विशाल भट्टराईले मकालु खबरलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोनमार्फत पनि सर्वदलीय बैठकको निम्तो दिएका थिए । ‘प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो,’ सचेतक भट्टराईले भने, ‘माओवादी केन्द्रका अध्यक्षज्यूलाई पनि खबर दिइएको छ ।’

यता अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले भने प्रचण्ड बालुवाटार नजाने बताएका छन् । ‘सर्वदलीय बैठकबारे थाहा छैन,’ जुगलले भने, ‘प्रचण्ड बालुवाटार जानुहुन्न ।’ स्रोतकाअनुसार आज आह्वान गरिएको बैठकमा संसद् अधिवेशन अन्त्यलगायतका विषयमा छलफल हुँदैछ ।
प्रतिक्रिया