प्रदेश २ : ४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई माओवादीको सिफारिस

काठमाडौं । प्रदेश नं. २ का ४ सांसदलाई पदमुक्त गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सभामुखलाई सिफारिस गरेको छ । सांसदहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न केन्द्रले सभामुख सरोजकुमार यादवलाई सिफारिस गरेको हो । ती सांसदहरु तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्दाताका केपी शर्मा ओलीको कित्तामा उभिएका उनीहरु फागुन २३ गते सर्वोच्चले पूर्वमाओवादी र एमाले ब्युँताइदिएपछि पनि ओलीतिरै लागेको थिए ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मकालु खबरलाई दिएको जानकारीअुनसार केन्द्रले पार्टी बाहिर रहेर पार्टीको विधानविपरीत गतिविधि गरेको भनी कारबाही गरिएको हो । ‘कारबाहीको लागि प्रदेशमा पत्रसमेत पठाइसकिएको छ,’ सचिव ढकालले भने, ‘त्यसपछि अध्यक्षज्यूले पत्र प्रदेश पठाउनुभएको हो ।’

यी ४ जना सांसदहरुलाई पार्टी केन्द्रीय समितिले २४ स्पष्टीकरण सोधेको थियो । तर, चारैजना सांसदहरुले स्पष्टीकरण दिएको थिएनन् । नदिएपछि उनीहरुलाई कारबाही गर्नुपरेको सचिव ढकालले बताए । ‘उहाँहरुलाई स्पष्टीकरण सोधिएको थियो,’ सचिव ढकालले भने, ‘तर, उहाँहरुले बुझाउनुभएन ।’

यसअघि रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश नं. २ का संसदीय दलका नेता थिए । तर, एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता बनाएको छ ।

संसदीय दलका उपनेता रहेका दिलिप साहलाई प्रमुख सचेतक र जगत यादवलाई दलका उपनेता चयन गरिएको छ । प्रदेश सभामा माओवादीका ११ सांसद रहेकोमा ४ जनालाई कारबाही गरेपछि ७ जनामा सीमित हुने भएको छ ।

प्रतिक्रिया