प्रदेश २ : ४ सांसद कारबाहीमा, प्रचण्डले सोधे स्पष्टीकरण

जनकपुर । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनताका केपी शर्मा ओली समूहतिर लागेका माओवादी केन्द्र पृष्ठभूमि भएका ४ जना प्रदेश सांसदलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारबाही गरेका छन् । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले मकालु खबरलाई दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले कारबाहीको पक्रियास्वरुप प्रदेशमा पत्र पठाएका छन् । ‘अँ अध्यक्षज्यूले कारबाहीको प्रक्रिया अगाडि बढाउनुभएको छ,’ सचिव ढकालले भने, ‘प्रदेशमा पत्र पठाइसकिएको छ ।’

अध्यक्ष प्रचण्डको कारबाहीमा परेका सांसद रामचन्द्र मण्डल धनुषा १ को ‘ख’बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने ज्वालाकुमारी साह बारा क्षेत्र नं. ३ को ‘क’बाट निर्वाचित भएकी हुन् । यस्तै आफ्नै अध्यक्षको कारबाहीको भागीदार बनेका कुन्दनप्रसाद कुशवाह रौतहट ३ को ‘ख’बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । यस्तैगरी बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमालेमै छन् । उनलाई पनि अध्यक्ष प्रचण्डले कारबाही गरेका छन् ।

यसअघि उनीहरु चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । ‘उहाँहरुलाई यसअघि नै २४ घण्टे स्पष्टीकरण सोधिएको थियो,’ माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले भने, ‘तर, दिनुनभएपछि कारबाही गर्नुपरेको हो । अहिले प्रक्रिया जारी छ ।’

अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने सचिव ढकालले बताएका छन् । ‘पार्टीबाहिर गतिविधि गर्नेलाई पार्टीले कारबाही गर्ने गर्छ,’ ढकालले भने, ‘त्यसैले उहाँहरु प्नि कारबाहीमा पर्नुभएको हो ।’ सोमवार त्यहाँ प्रदेश सभा बैठक बस्दैछ । बैठकअघि नै चारै सांसदलाई पदमुक्त गरिने प्रक्रिया थालिएको हो ।

यसअघि रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश नं. २ का संसदीय दलका नेता थिए । तर, एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता बनाएको छ ।

संसदीय दलका उपनेता रहेका दिलिप साहलाई प्रमुख सचेतक र जगत यादवलाई दलका उपनेता चयन गरिएको छ । प्रदेश सभामा माओवादीका ११ सांसद रहेकोमा ४ जनालाई कारबाही गरेपछि ७ जनामा सीमत हुने भएको छ ।

प्रतिक्रिया