वर्तमान सरकार निरंकुशतातिर बढ्यो‚ विकल्प खोजौं : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरंकुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयो गर्‍यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने बताए । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने बताए ।

उनले भने‚ ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो कि गरेन, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुनेछ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव चुनावमात्रै भनेर सुख पाइँदैन । हामीले निरंकुशतातिर बढिरहेको अहिलेको सत्ताको विकल्पको खोजी गर्नुपर्छ । विकल्पका लागि उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरु पार्टीहरुसँग मिलेर प्रयत्न गर्नुपर्छ ।’

नेता पौडेलले विगतमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने बताए । त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने बताउँदै उनले भने‚ ‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं । जुनबेला एमाले र माओवादी केन्द्र बनेका थिएनन् । त्योबेला जोखाना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ । यतिमात्रै भन्छु- फेरि पनि जोखाना हेरेर यो चान्स मिस गर्ने अनि पछि टाउको समातेर रुने भन्ने कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो । हाम्रा साथिहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनावमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने वरिष्ठ नेता पौडेलले बताए । अहिलेको सरकारका कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकाले लोकतन्त्र बचाउनका लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने बताए ।

उनले भने‚ ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन । पार्टी यस्तो अवस्थामा छ । चुनाव चुनाव चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पुर्‍याउँछ ? आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनका लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भर्‍याङ् चढ्न खोजेको पुष्टि भएको पनि उनले बताए । त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताए । व्यवस्था बचेमा मात्रै सत्ता आफैँ आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने पनि बताए ।

उनले भने‚ ‘व्यवस्था बचाउनुपर्छ, सत्ताभन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । सत्ताभन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौं र इमान्दार प्रयत्न गर्‍यौं भने सत्ता आफैँ आउँछ ।’

प्रतिक्रिया