७५ वटा जिल्लामा पुग्याे स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौं ।‌ नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पाँचौं स्वास्थ्य बिमा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

आज बुधबारबाटै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य बिमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य बिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी तथा पदाधिकारी लाग्नुपर्नेमा जोड दिए ।

विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको पनि बताए । यस्तै उनले स्वास्थ्य बिमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्रयाइँ नगर्न समेत सचेत गराए ।

स्वास्थ्य बिमाका विमितहरुलाई दिइने सेवा सुविधालाई बोझको रुपमा नहेर्न चेतावनी दिँदै उनले भने, ‘ अस्पतालले विमितलाई दिने सुविधालाई बोझको रुपमा बनाउने प्रयत्न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस् । आफ्नो संस्था आफैँले सुदृढ गर्ने काममा लाग्नुहोस् । विमितहरु आए, पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन ।’

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसँगै स्वास्थ्य बिमा कार्यक्रम आजबाट ७५ वटा जिल्लामा लागु भएको छ ।

यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन् । ५ जना सम्मको परिवार भएको विमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बिमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउँछन् । आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया