कोरोनाको संक्रमणको मारमा भारतीय चलचित्र उद्योग

एजेन्सी । भारतीय कलाकार भूमि पेडनेकर र विक्की कौसललाई कोरोना सङ्क्रमण भएको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै यी दुईले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

भूमिले लेखेकी छन्, ‘मलाई कोरोनाको सामान्य लक्षण देखिएको छ । चिकित्सकसँग निरन्तर सम्पर्कमा छु । सम्पूर्ण सावधानी अपनाइरहेको छु । मेरो सम्पर्कमा आउनुभएको सम्पूर्णले कोरोना टेस्ट गराउनु होला ।’ अहिले यी दुवै जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै, अक्षय कुमारको आगामी चलचित्र ‘राम सेतु’ का ४५जना जुनियर कलाकारलाई समेत कोरोना संक्रमण भएको छ ।

यसै कारण उनीहरू क्वारेन्टिनमा छन् । योजनाअनुसार सोमबारबाट यस चलचित्रमा एक सय जनाले काम सुरु गर्दै थिए । मड आइल्याण्डमा सुटिङ तयारी रहेकोमा अब भने छायांकन नै रोकिएको छ ।

अक्षय कुमारलाई भने सोमबार नै अस्पताल भर्ना गरिएको छ । आइतबार संक्रमण देखिएकोमा उनी क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै अर्का कलाकार एजाज खान थुनामा रहेकै अवस्थामा संक्रमित भएका छन् । उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा चलिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ‘राम सेतु’ को सोमबार हुने छायांकन रोकिएको छ । अब छायांकन करिब दुई हप्तापछि सुरु गर्ने टिमको तयारी छ ।

अक्षयले समेत आफूलाई सङ्क्रमण भएको खबर सामाजिक सञ्जालमार्फत् दिएका थिए । ५३ वर्षीय अभिनेताले लेखेका थिए, ‘मलाई कोरोना संक्रमण भएको छ । सम्पूर्ण सुरक्षाका उपाय अपनाइरहेको छु । म तुरुन्तै छुट्टै रहेर सुरक्षा अपनाउँदैछु । चिकित्सकको निरन्तर सम्पर्कमा पनि छु । मेरो सम्पर्कमा आउने सम्पूर्णले स्वास्थ्य जाँच गराउनुहोला । म छिटै नै काममा फर्किनेछु ।’

त्यस्तै कलाकार गोविन्दालाई समेत संक्रमण भएको छ । उनी निरन्तर चिकित्सकको सम्पर्कमा छन् । श्रीमती सुनितालाई निको भएसँगै उनमा संक्रमण देखिएको थियो । कार्यक्रमका दौरान नै संक्रमणमा परेको हुन सक्ने यी दम्पतिको आशंका छ ।

प्रतिक्रिया