‘द इन्टर्न’को रिमेकमा अमिताभ बच्चन

काठमाडौँ । अघिल्लो वर्षको जनवरीमा अंग्रेजी चलचित्र ‘द इन्टर्न’ को हिन्दी रिमेक बनाउने घोषणा गरिएको थियो । भारतीय अभिनेत्री दिपिका पादुकोणले सामाजिक सञ्जालबाट यो खबर बाहिर ल्याएकी थिइन् । तर लकडाउनको समय र अप्रिलमा भएको ऋषि कपूरको निधनले चलचित्रको काम अगाडि बढ्न सकेन । ऋषि कपूरको स्थानमा अब अमिताभ बच्चन देखिने भएका छन् । यो खबरसमेत दीपिकाले सामाजिक सञ्जालमार्फत् नै सेयर गरेकी छन् ।

दीपिकाले पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘मेरो सबैभन्दा नजिकका अभिनेतासँग मैले दोस्रो पटक काम गर्ने अवसर पाएकी छु । द इन्टर्नको भारतीय रिमेकमा अमिताभ बच्चनलाई स्वागत छ ।’

सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र पिकुमा अमिताभ र दीपिका एक साथ देखिएका थिए ।

‘द इन्टर्न’ सन् २०१५ मा नै प्रदर्शन भएको चलचित्र कमेडी ड्रामा जन्रामा बनेको चलचित्र हो । एक ७० वर्षीय वृद्ध‚ जसकी श्रीमती छैनन्, अनलाइन फेसन वेबसाइटमा इन्टर्नको रूपमा पुग्छन् । यही वृद्धको भूमिकामा देखिँदैछन् अमिताभ वच्चन । यही चलचित्रको रिमेक कन्नडामा समेत बनिसकेको छ । यस चलचित्रलाई रवीन्द्रनाथ शर्माले निर्देशन गर्दैछन् भने कथा  अक्षत घिल्यडियाल र मीतेश शाहले लेखिरहेका छन् ।

दीपिकाले सुनिल खेत्रपालसँग मिलेर यो चलचित्र निर्माण गर्दैछिन् । छपाकपश्चात् उनको प्रोडक्सनमा निर्माण हुने यो दोस्रो चलचित्र हो ।

प्रतिक्रिया