भारतीय अभिनेता गोविन्दालाई कोरोना संक्रमण

एजेन्सी । भारतीय कलाकार गोविन्दालाई कोरोना सङ्क्रमण भएको छ । कलकत्ता गएका बेला त्यहिँ नै संक्रमण भएको हुनसक्ने उनकी श्रीमती सुनिताले बताइन् ।

गोविन्दाको स्वास्थ्यस्थितिबारे जानकारी दिँदै सुनिता भन्छिन्, ‘उहाँलाई रुघाखोकीको लक्षण देखिएको थियो । सुधार नआएपछि हामीले कोरोना परीक्षण गराउने विचार गर्‍यौँ । उहाँलाई स्वादमा समस्या थिएन भने गन्धसमेत महशुस गरिरहनुभएको थियो । ज्वरो आएको थिएन । खानासमेत राम्रोसँग खाइरहनुभएको थियो । अहिले भने उहाँको शरीर दुख्न थालेको छ र दुखाइ बिस्तारै बढ्दै गएको छ।’

उनी भन्छिन्, ‘शायद ! कलकत्तामा मलाई सङ्क्रमण भएको हुनसक्छ । गोविन्दा र म एक च्यानलको शोका लागि कलकत्ता पुगेका थियौँ । हामीसँग तस्बिर लिनका लागि ठूलो भिड जम्मा भएको थियो । मानिसहरूले भौतिक दूरी  कायम गरेका थिएनन् । मुम्बईमा आइपुग्दा मलाइ केही लक्षण देखिन थाल्यो । परीक्षण गराउँदा पोजेटिभ देखियो । मेरो अवस्था अहिले ठिक छ । तर गोविन्दा भने सङ्क्रमित नै छन् ।’

५७ वर्षीय गोविन्दाले भारतीय सञ्चार माध्यमसँग  कुराकानी गर्दै भने, ‘मैले परीक्षण गराएको थिएँ र सावधानीसमेत अपनाइरहेको थिएँ । सामान्य लक्षण देखिएको थियो । परीक्षण गराउँदा सङ्क्रमण भएको रहेछ । घरका सम्पूर्ण सदस्यको परीक्षण गरिएको थियो । मबाहेक कसैलाई पनि संक्रमण देखिएन । सुनितालाई देखिएपनि उनी अहिले स्वस्थ छिन् । डाक्टरको सुझावअनुसार म अहिले क्वारेन्टिनमा छु । साथै सबैले सावधानी अपनाउँदै सुरक्षित रहनुहोला भन्ने आग्रह गर्दछु ।‘

गोविन्दाकी पत्नी सुनिता नेपाली चेली हुन् ।

प्रतिक्रिया