चलचित्र निर्देशक समाजको १३औँ साधारण सभा सम्पन्न

काठमाडौँ । चलचित्र निर्देशक समाजको १३ औ साधारण सभामा ९२ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा लामासहित अन्य केही निर्देशकलाई पनि सम्मान गरिएको थियो । लामाले चलचित्र ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

कार्यक्रममा निर्देशक युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी, नारायण पुरीलाई समेत सम्मान गरिएको थियो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उनीहरूलाई सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, युवा चलचित्र निर्देशक सम्मान ऋषि लामिछाने र लोकप्रिय निर्देशक सम्मान दीपा श्री निरौलालाई प्रदान गरियो ।

साधारण सभामा निर्देशक समाजले अक्षय कोषको घोषणा तथा निर्देशक समाजले सदस्यहरूले सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने घोषणा समेत गरेको छ ।

कार्यक्रममा अतिथिको रूपमा उपस्थिति नीर शाहले चलचित्रकर्मीहरू अझै पनि व्यावसायिक बन्न नपाएको बताए । कार्यक्रममा संस्थाको विभिन्न गतिविधि समेटेर निर्माण गरिएको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया