भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न

काठमाडौं । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ ।

पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना प्रमुख तुलाराज चौलागाईंले हालसम्म २२ वटा दुई कोठे, नौ वटा तीन कोठे र २५ वटा चार कोठे भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए ।

‘चालू आर्थिक वर्ष २०७७/७८ मा ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन्’, उनले भने, ‘२२ वटा शौचालय र दुई वटा खानेपानी आयोजनाको निर्माण सकिएको छ । २८ शौचालय र २५ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।’ उनका अनुसार कक्षाकोठा भवन पुनःनिर्माणमा २८ करोड ७४ लाख ६५ हजार १५३ रुपैयाँ खर्च भएको छ ।

यसैगरी शौचालयमा तीन करोड ६४ लाख ६१ हजार ९२ र खानेपानी आयोजना निर्माणमा ५७ लाख ५० हजार ८२० रुपैयाँ खर्च भएको छ ।

भूकम्पले क्षति पुगेका १०५ विद्यालयका ३४४ कक्षाकोठामध्ये १७१ को निर्माण सम्पन्न भइसकेका छन् भने १७३ कक्षाकोठाको निर्माण अन्तिम चरणमा पुगेका छन् ।

कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका रितुङ माबी, रघुगङ्गा–८, घ्याँसीखर्कका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताए।

प्राधिकरणले चार कोठे भवनलाई ७० लाख ४० हजार, तीन कोठेलाई ३५ लाख ८० हजार, दुई कोठेलाई २३ लाख ९० हजार, शौचालयलाई १५ लाख र खानेपानी आयोजनालाई सात लाख ४० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकम कर र आयोजना व्यवस्थापन खर्चसहित अधिकतम हो ।

टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुनेगरी लागत अनुमान तयार पारिएको छ ।

वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउँदा भवन निर्माण गरेको तीन महिनासम्म पनि भुक्तानी नपाएको कैलाश मावि दोवाका प्रअ शीरबहादुर गर्बुजाले बताए।

विद्यालय व्यवस्थापन समितिअन्तर्गत उपभोक्ता समितिमार्फत भवन निर्माण योजना कार्यान्वयन गर्ने कार्यविधि छ ।

गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्ती मुख्य विद्यालय भवन पुनःनिर्माणमा देखिएका चुनौती हुन् ।

प्रतिक्रिया