साउदीको जेलमा थुनिएका विजयको उद्धारको याचना

नवलपरासी । नवलपरासी जिल्ला बर्दघाट नगरपालिका– ९ भुताहा घर भएका ३० वर्षीय विजय सुनार केही समययता साउदी अरबको जेलमा थुनिएकाे परिवारले बतायो ।

विजय २०७५ सालमा तीन वर्षपछि छुट्टीमा नेपाल आएका थिए । नेपालमा केही समय बसेर फेरि साउदी पसेका उनी अर्को छुट्टीमा नेपाल आउन नपाउँदै साउदी अरबको जेलमा परेको खबर आएपछि उनको परिवार चिन्तामा डुबेको छ ।

श्रीमान आउने दिन पर्खिएर बसिरहेकी सीमाको गत फागुन ३ गते विजयसँग राम्रै कुरा भएको उनी बताउँछिन् । फेसबुक र फोनकलमा कुरा हुँदा विजयले फागुन दोस्रो सातासम्ममा घर आउने र आफूले सामान र हवाईजहाज टिकटको बन्दोबस्त मिलाइसक्न लागेको बताएको उनले सुनाइन् । तर त्यसको दुई दिन पछाडि विजयले आफ्नो राहदानी हराएको भन्दै सीमालाई सूचना दिएका थिए ।

त्यसपछि विजयले बेलाबेलामा मानसिक सन्तुलन बिग्रिएको जस्तो कुरा गर्न थालेको उनले बताइन् । विजय घर आउन नपाउने भएँ भन्दै रोइराख्ने गरेको सीमाले सुनाइन् । राहदानी कसरी हरायो भन्दै सीमाले प्रश्न गर्दा विजयले अरू कसैले हराइदियो‚ मलाई फसाउन खोजेका छन् भनेका थिए ।

‘जिउँदै घर फर्किन्न क्यारे’ भन्दै रुँदै विजयले सीमासँग कुरा गरेका थिए ।

त्यसपछि अचानक विजयको फोन उठ्न छाड्यो । सीमाले निरन्तर सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको उनी बताउँछिन् । फागुनको दोस्रो सातातिर विजयका साथीले फोन उठाएपनि उनले सीमालाई आफ्नो परिचय भने खुलाएनन् । विजयका साथीले त्यसबेला सीमालाई भनेका थिए, ‘विजय सुतेको छ, तपाईंसँग भोली कुरा गर्छ ।’

त्यति भनेर फोन राखिदिएका विजयका साथीले भोलिपल्ट फोन गरेर सेक्युरिटी गार्डसँग झगडा परेर विजय साउदीकै जेल परेको खबर सुनाए । एकपटक कुरा गराइदिनुस् भनेपछि विजयसँग एक मुस्लिमको माध्यमबाट सीमाले फोनमा कुरा गरेकी थिइन् । तर विजयले सीमालाई आफूले नचिनेको बताए ।

सीमा भन्छिन्, ‘मेरो श्रीमानले पूर्ण रुपमा मानसिक सन्तुलन गुमाइसकेका छन् । मलाई उहाँ काठमाडौंको कुन म्यानपावरबाट साउदी अरब जानुभयो र साउदीमा कुन कम्पनीमा काम गर्नुहुन्थ्यो भन्नेबारे केही थाहा छैन । मेरो श्रीमानलाई नेपाल फर्काइदिन कसैले सहयोग गरे श्रीमानको उपचार गराउने थिए ।’ अहिले पनि सीमाको विजयसँग फोनमा कुरा हुन्छ । तर विजय होसको कुरा गर्दैनन् । विजयसँग कुरा गराइदिनेको भाषा सीमा बुझ्दिनन् ।

प्रतिक्रिया