सेलिब्रेटीहरुको होली !

काठमाडौँ । आज होली, अर्थात् रङ्गहरूको पर्व । नेपाली सेलिब्रेटीहरुको होली खासै उत्साहित देखिएको छैन । अघिल्लो वर्ष र यस वर्षको होली कोभिड १९ को कारण खुलेर मनाउन सकेनन् कलाकर्मीले ।

त्यही पनि कतिले घरमै बसेर रमाइलो गरिरहेका छन् भने कतिपय पुराना तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै रमाइलो क्षण सम्झिँदैछन् । निर्देशक नवल नेपालले पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ढोलक बोकेका उनको पूरै शरीर रङले भरिएको छ ।

फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनी लेख्छन्, ‘भक्त प्रह्लादको अस्तित्वलाई जलाउन खोज्दा आफैँ भस्म हुन पुगेकी होलीकाजस्तो जस्तो नियति हामी कसैले भोग्न नपरोस्, अरूको अस्तित्वलाई नि स्वीकार गरौँ ! होलीको शुभकामना’ उनी यसै पनि धर्म संस्कृतिमा जोड दिने चलचित्रकर्मीको रूपमा परिचित छन् ।

नायिका सञ्चिता लुइँटेल र नायक निखिल उप्रेतीले आजको होली घरमै मनाएका छन् । दुई सन्तानका साथ उनीहरूले घर मै सौहार्दपूर्ण रूपमा होली मनाए ।

निर्देशक समुन्द्र भट्टले यस पटकको होली आफ्नै श्रीमान् आकाशसँग घरमै मनाएकी छन् । उनको जोड होलीमा प्राकृतिक रङ्गतर्फ देखिन्छ । थोरै रङ्ग अनुहारमा लगाएकी उनले मन्द मुस्कानसहितको तस्बिर सार्वजनिक गरेकी छन् ।

कलाकार तथा निर्माता दीपकराज गिरीले केही दिनअघि छायाङ्कन गरिएको गीत ‘धनियाँ के होली’ को तस्बिर फेसबुकमा राखेका छन् । हिजै तस्बिर राखेर उनले ‘होली त भोलि’ लेखेका छन् ।


यस्तै यता गायक सङ्गीतकार रचनाकार मोडल तथा निर्देशक देवेन्द्र बब्लुले तस्बिर राख्दै होलीको शुभकामना दिएका छन् ।

कलाकार प्रमीला खनालले सुन्दर तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘रङ दल्नेभन्दा रङ बदल्नेहरूसँग होसियार रहौँ । होलीको शुभकामना’ ।

निर्देशक वसन्त निरौलाले भने सिने इक्युपमेन्ट हाउसमा सामूहिक होली मनाएका छन् । उनले फोटो तथा भिडियो सार्वजनिक गर्दै होलीको शुभकामना दिएका छन्

निर्देशक सुरेश दर्पण पोखरेलले भने पुरानो होली सम्झिएका छन् । करिश्मा मानन्धरको घरमा मनाइने होलीको सम्झना गर्दै उनले नायिकाहरू सँगको तस्बिर राखेका छन् ।

 

कलाकार नम्रता सापकोटा खुलेर होली मनाउँदै देखिन्छिन् । अदा सहितको उनको आकर्षक तस्बिर सहितको होलीको उनको शुभकामना सार्वजनिक भएको छ ।

कलाकार निर्मल शर्माले केही वर्षअघिको रमाइलो तस्बिर सार्वजनिक गरेका छन् । उनले अगिल्लो वर्ष समेत यही तस्बिर राखेर होलीको शुभकामना बाधेका थिए ।

हिन्दु धर्मका अधिकांश पर्व खुलेर मनाउने कलाकार नाजिर हुसेनले होली समेत रमाएर मनाएका छन् । आकर्षक तस्बिर सार्वजनिक गर्दै उनी लेख्छु, ‘होली त मलाई तिमीसँग खेल्न मन थियो, फगत यी रङ्गहरू बिचमा आइदिए १ सादा सपनाहरू रङ्गिन होस सबैको, रङ्गहरूको पर्व होलीको शुभकामना सबैमा ।‘

होलीमा करिश्मा मानन्धरको नाम पर्यायवाचीझैँ छ । उनले सलवार कुर्था लगाएको तस्बिर सार्वजनिक गर्दै होली मनाइरहेको झल्को दिएकी छन् ।

प्रत्येक वर्ष घरमै भव्य होली मनाउने उनले २ वर्ष यता विषम् परिस्थितिको कारण परिवारबिच नै होली मनाइरहेकी छन् ।

प्रतिक्रिया