बौद्धिक चोरीमा संलग्न त्रिविका छ प्राध्यापकसहित सात जनालाई कारबाही

काठमाडौं । बौद्धिक चोरीमा संलग्न प्राध्यापकहरुलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गरेका छ । अवकाशप्राप्त १ प्राध्यापक र ५ उपप्राध्यापकलाई त्रिविले कारबाही गरेको त्रिविका प्रवक्ता सूर्य अधिकारीले मकालु खबरलाई जानकारी दिए ।

प्रवक्ता अधिकारीकाअनुसार कारबाहीमा पर्नेमा एक जना भने प्राध्यापक होइनन् । ‘त्रिविले जम्मा ७ जनालाई कारबाही गरेको हो,’ प्रवक्ता अधिकारीले भने, ‘कारबाहीमा पर्ने सबै प्राध्यापक चाहिँ अवकाशप्राप्त हुन् । एकजना चाहिँ प्राध्यापक होइनन् ।’

पटक–पटक बौद्धिक चोरीमा संलग्न भएको घटना बाहिर आउँदासमेत त्रिविले कुनै कारबाही नगरेको भन्दै आलोचना भएपछि त्रिविले ६ जना प्राध्यापकलाई एकैचोटी कारबाही गरेको हो । प्रवक्ता अधिकारीले भनेका छन्, ‘कारबाही नगरेको भनेर सधैं आलोचना हुने गरेको छ । तर, त्रिविले गल्ती देखिएको खण्डमा कारबाही नै गर्दै आएको छ । यसैअन्तर्गत ७ जनालाई पनि कारबाही गरिएको हो ।’

कारबाहीमा पर्नेमा रसायशास्त्रीहरु महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट अवकाशप्राप्त प्राध्यापक डा. परशुराम मिश्र, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरका उपप्राध्यापक हरेराम मिश्र, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक रोहितकुमार देव, उपप्राध्यापक जनक अधिकारी र विमलकुमार कण्ठ छन् । यस्तै, पूर्वाञ्चल इन्जियिरिङ क्याम्पस धरानका उपप्राध्यापक तथा पीएचडी स्कलर युवराज साहु पनि कारबाहीमा परेका छन् भने कल्पना मिश्र पनि कारबाहीमा परेकी छन् । उनी भने प्राध्यापक होइनन् ।

अनुसन्धानात्मक लेख अनाधिकारिक रूपमा साभार गरिएको उजुरी परेपछि गत माघ ४ गते शिक्षाध्यक्षको कार्यालयले त्रिवि केन्द्रीय रसायनशास्त्र विभाग प्रमुख प्राध्यापक डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारबाही गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

बौद्धिक चोरीमा संलग्न उनीहरुलाई दुई वर्षसम्म त्रिविका कुनै पनि विद्यार्थीको सुपरिवेक्षण, थेसिस गाइडलगायत अनुसन्धानात्मक क्रियाकपलाप गर्न प्रतिबन्ध लगाइएको छ ।

छानबिन समितिले अध्ययन गरेको ११ वटा सबै आलेखमा ‘साइन्टिफिक मिसकन्डक्ट’ देखिएको थियो । ११ वटै आलेखमा प्राध्यापक मिश्रको संलग्नता देखिएको थियो ।

उजुरी दिनेमा फ्रान्सका प्राध्यापक आरमेली वेल पनि थिए । उनले आफ्नो अनुसन्धानात्मक अध्ययन हुबहु कपी भएपछि मेलमार्फत उजुरी दिएका थिए । त्यसपछि त्रिविले छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया