सौन्दर्य प्रतियोगिता सङ्घ नेपालको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौँ । काठमाडौँमा सम्पन्न दोस्रो साधारण सभाबाट सौन्दर्य प्रतियोगिता सङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको अध्यक्षमा मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपति चयन भएका छन् ।

आगामी दुई वर्षका लागि साधारण सभाले कक्षपतिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सङ्घको उपाध्यक्षमा फुपू तेन्जिङ शेर्पा र रमी श्रेष्ठ, महासचिवमा निशुकान्त झा, तथा कोषाध्यक्षमा बालकृष्ण पोखरेल चयन भएका छन् । त्यस्तै सङ्घको केन्द्रीय कार्यसमिति सदस्यहरूमा अश्विनी कान्त झा, अनिला श्रेष्ठ, नारायण आचार्य, मञ्जु श्रेष्ठ, शारदा सापकोटा र शारदा थापा चयन भएका छन् ।

सङ्घका नव निर्वाचित महासचिव निशुकान्त झाले सङ्घले सौन्दर्य प्रतियोगिता सम्बन्धी आचारसंहिता तयार गरेको र चाँडै नै आचार सहिता लागू गरेर सौन्दर्य प्रतियोगितालाई व्यवस्थित बनाउने बताए ।

नेपालमा अढाई दशकदेखि सुरु भएको सौन्दर्य प्रतियोगिता पछिल्लो समय नेपालमा वार्षिक रूपमा २ सय ५० भन्दा बढी कार्यक्रमहरू हुन थालेपछि यो सङ्घ स्थापना गरिएको सङ्घका अध्यक्ष कक्ष पतिको बताए ।

नेपालमा एसिड आक्रमणको सिकार भएकाहरूको सम्मानमा चाँडै एक कार्यक्रम गरेर उनीहरूलाई समाजमा बाहिर आउन प्रोत्साहन गर्ने अध्यक्ष कक्षपतिले बताएका छन् ।

प्रतिक्रिया