ह्याकरको निशानामा कलाकार !

  • दिक्षा कट्टेल

काठमाडौं । प्रयोग गर्न जाने सामाजिक सञ्जालका सयौं फाइदाहरु छन् तर, प्रयोग नजानेमा यसले पुर्‍याउने बेफाइदाका बारेमा सोच्न पनि सकिन्न । कतिपय अवस्थामा आफूले प्रयोगमा होसियारी अपनाए पनि अन्य कुनै दोस्रो पक्षबाट असुरक्षित बन्नपुग्छ । जसले स्वयम् प्रयोगकर्तालाई नै हानी पुर्‍याउँछ ।

संख्यात्मक रुपमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै खासगरी कलाकारहरुलाई दर्शकसामु चिनिन गाह्रो छैन । यसकै कारण कलाकारहरुले दर्शकसँगको सिधा सम्पर्कदेखि बढाउनेदेखि विश्वको कुनै पनि कुनामा रहेका आफ्ना अनुयायीसम्मलाई यसैबाट भेटिरहेका हुन्छन् । तर, कतिपय कलाकारहरुले भने यसकै कारण बदनामी हुनु परिहेको छ । ख्यातिप्राप्त कलाकारका नाममा खुलेका ‘फेक अकाउन्ट’का कारण स्वयम् कलाकार त पीडित छन् नै सँगै दर्शक-स्रोतासमेत कतिपय अवस्थामा अप्ठ्यारोमा परेका छन् । झनै पछिल्लो समय यो शृङ्खला ह्वात्तै बढेको छ ।

यसैबीच बिहीबार मात्रै कलाकारद्वय सरोज खनाल र दीपाश्री निरौलाको फेसबूक ह्याक मात्रै भएन त्यहाँबाट रकम असुलीसम्म गर्न खोजियो । रकम असुल्ने प्रयास स्वरूप ह्याकरले त्यहाँ (सामाजिक सञ्जाल)मा जोडिएका साथीहरुलाई नै अप्ठ्यारो पर्ने सन्देशहरुसमेत पठायो ।

कलाकार आफूसँग बोलेपछि र समस्यामा परेँ, सहयोग गर्नुस् भनेपछि प्रायः जो कोही पनि तयार हुन्छन् । यसैको फाइदा ह्याकरले उठाइरहेको छ ।

आफ्नो फेसबूक ह्याक भएपछि कलाकार सरोज फेसबूक डिट्टेल बोकेर प्रहरी प्रशासनको ढोकासम्म पुगे । इ-सेवाको अकाउन्ट प्रयोग गरेर रकम मागिएकोमा उक्त अकाउन्टका धनी स्वयम् पनि ठगिएका रहेछन् । उनको अकाउन्ट अरू कसैले दुरुपयोग गरेको निष्कर्षमा प्रहरी पुग्यो ।

यस्तै घटना कलाकार दीपासँग पनि थियो । सुमन गिरी (भान्जा)लाई दीपाको फेसबूकबाट सन्देश आयो, जहाँ एक लाख रुपैयाँ रकम मागिएको थियो । ह्याकरको यस्तो गतिविधिबारे जानकार गिरीले डिट्टेल मागे । उनलाई शङ्का लाग्यो, त्यसैले सिधै फोनमार्फत् दीपासँग कुरा गरे । अनि पो थाहा भयो- उक्त सन्देश दीपाको थिएन ।

बुझ्दै जाँदा यहाँ पनि रकम मागिएको इ-सेवा अकाउन्ट होल्डरसमेत ठगिएका रहेछन् । उनको अकाउन्ट ह्याक गरेर अरू कसैले प्रयोग गरिरहेको रहेछ ।

सरोजको अकाउन्टबाट दीपालाई म्यासेज आयो ंके छ बहिनी ? यो कोड पठाउन’ । उनले दाइलाई केही आवश्यक परेको होला भन्ने सोचेर कोड पठाइन् । तर, दीपालाई मेसेज गर्ने सरोज नभएर सरोजको फेसबूक ह्याकर थियो भन्ने पत्तै भएन । पहिले नै ह्याक भएको सरोजको फेसबूकबाट दीपासँगको सम्पर्कको फाइदा उठाउँदै दीपाको फेसबूक पनि ह्याक गरे ।

त्यसपछि सुमनसम्म आइपुग्दा ह्याकरको नियतबारे सुमनलाई शङ्का लाग्यो । र, घटना बाहिर आयो । गायिका सिर्जना खत्री ‘हाउडे माया’ को फेसबूक ह्याक गर्न ह्याकरले हिजो बिहान धेरै प्रयास गरेका थिए । कन्ट्याक्ट नम्बर मागेर ह्याकको प्रयास हुन्छ । फेसबुकले नै मागेको भनेर नम्बर दिएमा पुनः सिस्टमले नै ६ नम्बरको कोड माग्छ । यदि प्रयोगकर्ताले उक्त नम्बर दियो भने अकाउन्ट ह्याकरको हातमा पुग्छ । सिर्जनाको फेसबूकमा दोहोरो सुरक्षाको प्रक्रिया सुचारु गरिएको कारण ह्याक हुनबाट बचेको उनी बताउँछिन् ।

सामाजिक अभियन्ता इशा गुरुङलाई सरोज र दीपा दुवै जनाको अकाउन्टबाट मेसेज गरेर पैसा मागिएको उनी बताउँछिन् । उनले यस्ता व्यक्तिहरूसँग सजग रहन आग्रह गरेकी छन् । यस्तै यता गीतकार तथा सञ्चारकर्मी दयाराम पाण्डेको फेसबूक पनि बिहीबार बिहानै ह्याक भयो ।

आज कोरियोग्राफर कविराज गहतराजको फेसबुक समेत ह्याक गर्ने प्रयास भएको थियो । तर हिजोबाटै आएका समाचार देखिरहेको कारण उनले आफ्नो अकाउन्ट जोगाउन सफल भए भने ठगिनबाट समेत बचे ।

केही समय अघि गायिका त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्टसमेत ह्याक भएको थियो । तर, उनको परिस्थिति भने अन्य कलाकारकोभन्दा केहीभिन्न थियो । ह्याकरले उनको अकाउन्ट प्रयोग गरेर नभएर उनको अकाउन्टबाट उनलाई नै पैसा मागेका थिए । आफ्नो अकाउन्ट फिर्ता लैजानको लागि उनले अरू कसैलाई पैसा तिर्नुपरेको थियो ।

उनले नेपाल प्रहरीसँग सहयोग माग्दा नेपाल बाहिरबाट ह्याक गरिएको कारण केही पनि गर्न नसकिने बताइयो । त्रिशला पैसा पठाउन तयार भएकै समयमा उनका सहयोगी ह्याकरले उनको अकाउन्ट फिर्ता ल्याइदिए । तर उनले इन्स्टाग्राम परिवार भने गुमाइन् ।

प्रतिक्रिया