राजनेताको कहानीमा बनेका भारतीय चलचित्रहरू

कङ्गना रनावत अभिनित चलचित्र थलाइवी २३ अप्रिलबाट प्रदर्शनमा आउँदैछ । लामो समयको प्रतीक्षा पश्चात् चलचित्र दर्शकसामु आउन लागेको हो । यो चलचित्र अभिनेत्री तथा तामिलनाडुकी पूर्वमुख्यमन्त्री जय ललिताको जीवनमा आधारित चलचित्र हो । यस चलचित्रभन्दा पहिले पनि बलिउडमा धेरै राजनेताको कहानीमा चलचित्र बनिसकेका छन् । आज हामी यिनै चलचित्रहरूको चर्चा गर्दैछौँ :

आँधी (१९७५)
सन् १९७५ मा प्रदर्शनमा आएको चलचित्र ‘आँधी’ विवादमा रह्यो । यस चलचित्रको कहानी इन्दिरा गान्धीको जीवनीमा आधारित छ । चलचित्रमा एक राजनेताकी छोरी र होटेल म्यानेजरबीचको प्रेमलाई देखाइएको छ । राजनीतिमा आउँदै गर्दा पारिवारिक कठिनाइ झेल्नुपरेको सत्यता पनि चलचित्रमा देखाइएको छ । चलचित्रमा सुचित्रा सेन र राजीव कपूरको मुख्य भूमिका रहेको छ । चलचित्रको विवादित विषयका कारण बन्द गर्ने माग समेत आएको थियो । पछि केही भाग पुनः छायाङ्कन गरेर प्रदर्शन गरियो ।

सरकार (२००५)  र सरकार राज (२००८)
राम गोपाल वर्माको निर्देशनमा बनेको चलचित्र सरकार र सरकार राज दुवै सफल बने । चलचित्रको कथा हेरेर बाला ठाकरेको जीवनमा आधारित रहेको अनुमान लगाउन सकिन्छ । तर खुलेर उनको जीवनीमा आधारित चलचित्र भनिएको थिएन ।

सत्याग्रह
सन् २०१३मा रिलिज भएको चलचित्र ‘सत्याग्रह’ समेत राजनीतिक विषयमा निर्माण गरिएको चलचित्र हो । मल्टिस्टारर चलचित्रमा अमिताभ बच्चन, अजय देवगण, करीना कपूर, अर्जुन रामपाल र मनोज बाजापेयीको मुख्य भूमिका रहेको छ । अन्न हजारेको जीवनीमा आधारित चलचित्रमा अन्नाको भूमिकामा अमिताभ देखिएका थिए ।

राजनीति
कटरिना केफ, नाना पाटेकर, अर्जुन रामपाल र रणवीर कपूर अभिनित चलचित्र राजनीति सन् २०१० मा प्रदर्शनमा आएको थियो । चलचित्रमा राजनीतिमा आएपछि सम्झौता गर्नुपर्ने वास्तविकतालाई देखाइएको छ । चलचित्र हेरेर भारतीय कांग्रेसको आन्तरिक कथा भएको अनुमान लगाउन सकिन्छ ।

इन्दु सरकार
‘इन्दु सरकार’ २०१७मा प्रदर्शित इन्दिरा गान्धीको जीवनमा आधारित चलचित्र हो । चलचित्रमा सन् १९७० मा घटेको घटनालाई देखाइएको छ । इन्दिरा गान्धीको १०० औँ जन्म जयन्तीको अवसरमा चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्रमा कीर्ति कुल्हारी, निल नितिन मुकेश र अनुपम खेरले मुख्य भूमिका निभाएका छन् ।

प्रतिक्रिया