कोरोनाका कारण भारतीय चलचित्र प्रदर्शन नहुने

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै चलचित्रहरू पूर्वघोषित मितिमा प्रदर्शन हुन छोडेका छन् । केही समय अघि प्रदर्शन मिति तय गर्ने होडबाजी चलेकोमा अहिले आएर एक एक गर्दै चलचित्रकर्मीले चलचित्र प्रदर्शन गर्न नसकिने बताउन थालेका छन् ।
बलिउड अभिनेता सैफ अलि खान र रानी मुखर्जीको चलचित्र ‘बन्टी और बब्ली २’ को प्रदर्शन अप्रिल २३मा नहुने भएको हो । भारतमा कोरोनाको प्रभाव बढ्न थालेपछि अनिश्चित कालको लागि चलचित्र प्रदर्शन नहुने भारतीय सञ्चार माध्यमले जनाएको छ । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सैफ र रानीसँगै सिद्धान्त चतुर्वेदी र नव कलाकार शारवरीको अभिनय छ ।
त्यस्तै कोरोना कै कारण ‘हात्ती मेरे साथी’ को प्रदर्शन मिति समेत पोस्टपोन्ड भएको छ । यो चलचित्र हिन्दी भाषामा प्रदर्शनमा नआउने भए पनि तामिल र तेलुगुमा ‘अरन्य’ र ‘कादन’ शीर्षकबाट मार्च २६ मै प्रदर्शन हुनेछ ।
हाल, भारतमा कोरोनाको सङ्क्रमण दर बढ्दो रहेको छ ।








