अब अनलाइनबाट औषधि बिक्री गर्न नपाइने !

काठमाडौँ । अब अनलाइन तथा सामाजिक सञ्जालहरूका माध्यमबाट औषधि बिक्री/वितरण गर्न नपाइने भएको छ । औषधि व्यवस्था विभागले सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री/वितरण तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको झुट तथा भ्रामक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो । निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिएको छ ।

‘सामाजिक सञ्जाल वा पत्रपत्रिकाहरूमा औषधिहरूको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम विभागबाट पूर्व अनुमति लिनुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको समेत स्पष्ट पारेको छ,’ सूचनामा भनिएको छ, ‘अनलाइन फार्मेसीमार्फत्‌ भ्रमात्मक प्रचारप्रसार भएपनि औषधिहरूको गुणस्तरीयता तथा प्रभावकारिता सम्बन्धमा सम्बन्धित उपभोक्ता आफैँ जिम्मेवार हुनुपर्छ ।’

अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्लो अनलाइन फार्मेसीका नाममा छुट/सुविधा उल्लेख गरि औषधिको गैरकानूनी रुपमा बिक्रि वितरण भइरहेकोप्रति ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

प्रतिक्रिया