नेपालमा वार्षिक ६९ हजार क्षयरोगी थपिँदै

काठमाडौँ । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विभिन्न जनचेतनामुलक कार्यक्रम गरिँदैछ ।

हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस् नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।

क्षयरोगमुक्त घोषणा कार्यक्रम सञ्चालन गरिने
सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

केन्द्रका निर्देशक डा अनुज भट्टचनले क्षयरोगलाई नियन्त्रण र निर्मूूलीकरण गरी सबै स्थानीय तह क्षयरोगमुक्त गरिने बताए । यसका लागि सरकारले सुक्ष्म ढङ्गले कार्यक्रम सञ्चालन गरिने उनको भनाइ रहेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारले सञ्चालन गरेको ‘समृद्ध नेपाल र सुुखी नेपाली अभियान’ अन्तर्गत पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र बनाउनुपर्ने बताए । उनले स्थानीय तहलाई पूर्ण स्वास्थ्ययुक्त बनाउनुपर्ने बताए ।

केन्द्रका निर्देशक डा भट्टचनले गत आव २०७६/७७ मा एक लाख ५५ हजार ३७१ मा परीक्षण गर्दा २७ हजार ७४५ क्षयरोगका बिरामी भेटिएकाले उपचार गरिएको जानकारी दिए । केन्द्रका अनुसार क्षयरोग पत्ता लगाएका अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् । ‘ती बिरामीलाई पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको छ,’ उनले भने ।

प्रत्येक वर्ष मुलुकमा ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । प्रति एक लाखमा ९३ क्षयरोगका बिरामी र अहिले एक लाख १७ हजार क्षयरोगका बिरामी रहको छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ । अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्पर्ट केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आइरहेको छ ।

यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डिआर होस्टेल, एक वटा डिआर होम रहेको विश्व क्षयरोग दिवसको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया