‘पठाओमा प्राविधिक समस्या आएको हो‚ सेवा रोकिएको छैन’

काठमाडौं । पठाओ कम्पनीले प्राविधिक समस्याका कारण सेवामा केही समस्या आएको बताएको छ । पठाओ चालकमाथि कुटपिट भएको विरोधमा पठाओले सेवा अवरुद्ध गरेको भन्ने खबरमा सत्यता न भएको कम्पनीले जनाएको हो ।

मोबाइल एप्लिकेसनमा देखिएको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको पठाओकी बजार प्रमुख सुरक्षा हमालले मकालु खबरलाई जानकारी दिइन् ।

सोमबार साँझ नयाँ बसपार्कमा पठाओ चालकलाई ट्याक्सी चालकको समूहले कुटपिट गरेको थियो । त्यसकै विरोधमा मंगलबार पठाओको सेवा अवरुद्ध भएका खबरहरू आएकोमा ती खबरमा कुनै सत्यता नभएको हमालले बताइन् ।

सेवा बन्द गर्ने नभई चालकलाई पठाओको लोगो अंकित पीपीई सेट वा ज्याकेट नलगाउन निर्देशन दिइएको उनले बताइन् ।

यसअघि प्रहरीले पठाओ चालकले जथाभावी बाटोमा मोटरसाइकल पार्किङ गर्दा यातायात व्यवस्थापनमै समस्या भएको भन्दै पठाओलाई कारबाही गर्ने बताएको थियो ।

त्यसपछि चालकलाई पठाओको लोगो अंकित पोशाक नलगाउन निर्देशन दिइएको र निर्देशनलाई उल्लंघन गर्दै पठाओको सुट लगाएर कारबाहीमा परेमा कम्पनी जवाफदेही नहुने समेत उनले बताइन् ।

सोमबारको कुटपिटमा परेका राइडरबारे पूरै सूचना पाइनसकेको र अनुसन्धानपछि क्षतीपुर्तिसम्बन्धी निर्णय गरिनेसमेत सुरक्षाले जानकारी दिएकी छन् ।

प्रतिक्रिया