विमानस्थलमा मन्त्रीको छड्के, दिए यस्तो निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन-निरीक्षण गरेका छन् ।

अनुगमनमा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि सहभागी थिए । पर्यटनमन्त्री ढकालले अनुगमनका क्रममा देखिएका कमजोरी सुधारका लागि सात दिनको समय दिँदै पुनः अनुगमनमा आउने बताए ।

मन्त्री ढकालले विमानस्थलको पुनःनिर्माणको काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । उनले भने ‘हाम्रो मान्छे कति जिम्मेवार छन् भन्ने कुरा विमानस्थलको श्रम कार्यालय हेरेर देखिन्छ । सरसफाइमा त्यति जिम्मेवारी देखिएन । सुरक्षा जाँचको नजिकै पान खाएर थुकेको छ। विमानस्थल प्रमुखले पनि निरन्तर अनुगमन गरेर काम गराउनुप-यो। कर्मचारीको काम सेवाग्राहीलाई सेवा दिने र मन जित्ने हो । राम्रो गर्नुस् ।’

सात दिनभित्र सम्पूर्ण कमी-कमजोरी सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त बनाउन उनले निर्देशन दिए । पर्यटनमन्त्री ढकालले विमानस्थलको अवस्था भद्रगोल बनाएर भत्ता माग्न नआउन अनुरोध पनि गरे ।  

प्रतिक्रिया