शारीरिक दुर्व्यवहारको शिकार भएका भारतीय कलाकार

एजेन्सी ।शारीरिक दुर्व्यवहारका घटनाबाट भारतीय कलाकारहरु पनि हैरान् छन् । पछिल्लो समय आफूले भोग्ने गरेको दुर्ब्यवहारबारे बोल्ने क्रम बढ्दै गएपनि सबैले अझै पनि आफूमाथिको दुर्व्यवहारबारे मुख खोल्न सकिरहेका छैनन् ।
सोमी अली
९० को दशककी भारतीय नायिका सोमी अलीले उनी माथि भएको शारीरिक हिंसाको विषयमा खुलेर बोलेकी छन् । सलमान खानकी ‘पूर्व प्रेमिका’ समेत रहेकी सोमीलाई उनी आफू ५ वर्षको उमेरमा घरेलु कामदारले शारीरिक शोषण गरेका थिए । उनले परिवारका सदस्यसँग कुरा गर्दा ‘अरू कसैलाई नभन्न’ सुझाइयो । उक्त कामदारको विरुद्ध कानुनी प्रक्रिया भने चालिएको थियो । यसपछि पनि आफूमाथिको शोषण भने नरोकिएको उनले बताइन् । उनले ९ र १४ वर्षको उमेरमा समेत सोही प्रकारको व्यवहारको सामना गर्नु परेको थियो । हाल उनले घरेलु हिंसा र बलात्कार पीडितको सहयोगार्थ ‘नो मोर टियर’ नामक संस्था सञ्चालन गरेर पीडितको सहारा बन्दै आएकी छन् ।

सोमीभन्दा पहिला पनि धेरै भारतीय कलाकारले आफूमाथि भएका शोषणका घटना बाहिर ल्याएका छन् ।

सोफिया हयात
बेलायतकी चर्चित अभिनेत्री तथा विग बोसकी प्रतियोगी समेत रहेकी हयात माथि समेत बालखमै शारीरिक शोषण भएको थियो । उनी माथि शोषण गर्ने व्यक्ति उनकै नजिकका नातेदार भएको उनले बताएकी छन् । उनलाई अझै पनि बाल्यकारमा घटेको उक्त घटनाले समय समयमा पिरोल्ने गरेको छ ।
रिया चक्रवर्ती
सुशान्त सिंह राजपूतको मृत्युपश्चात् चर्चामा आएकी रियाले समेत शारीरिक शोषण भोगेकी छन् । लिफ्टमा एक वयस्क पुरुषले उनीमाथि शारीरिक दुर्व्यवहारको प्रयास गरेका थिए । मार्सल आर्ट जान्ने रियाले आफ्नो उक्त क्षमता प्रयोग गरेर सम्भावित दुर्घटनाबाट बच्न सफल भएकी थिइन् । सिसिटिभी फुटेजमा देखिको अनुहारलाई आधार मानेर उक्त व्यक्तिलाई पक्राउ गरी कारबाही अगाडी बढाइएको थियो ।

दीपिका पादुकोण
चर्चित भारतीय अभिनेत्री दीपिका पादुकोण समेत शारिरीक दुर्व्यवहारको शिकार भएकी छन् । १४/१५ वर्षको उमेरमा पारिवारिक भेटघाट समारोहमा पुगेर फर्किँदै गर्दा उनी माथि दुर्व्यवहार भएको थियो । रातको समय घर फर्किँदै गर्दा एक अपरिचित व्यक्तिले उनको शरीरमा असहज तरिकाले छोएको उनले एक अन्तर्वार्तामा बताएकी छन् । केही समय बेवास्ता गरेकी उनीमाथि पटकपटक असहज छुवाई बढेपछि भने उनले उक्त व्यक्तिलाई पछ्याएर दुई थप्पड हानेकी थिइन् ।

सुष्मिता सेन
एक अवार्ड समारोहमा अभिनेत्री सुस्मिता सेनलाई एक व्यक्तिले पटकपटक असहज तरिकाले छोएका थिए । जब उनले उक्त व्यक्तिको हात समातेर अगाडी तानिन्, उनी छक्क परिन् । यो तल्लो स्तरको व्यवहार गर्ने त १५ वर्षको एक किशोर रहेछन् । उनले उक्त किशोरलाई एउटा कुनामा लगेर सम्झाइन् र, बताइन्.’यस्तो हर्कतक गर्दा कानुनी रूपमा अगाडी बढ्ने हो भने तिम्रो जिन्दगी नै खराब हुन्छ ।’

सोनम कपूर
१३ वर्षको उमेरमा सोनाम माथि शारीरिक हिंसा भएको थियो । एक साथीसँग चलचित्र हेर्न हलमा पुगेकी सोनाममाथि हलभित्र नै यस्तो प्रयास भएको थियो । एक व्यक्तिले उनको स्तनमा हात राखेको उनले एक अन्तर्वार्तामा बताएकी छन् । सोनाम उक्त व्यवहारबाट अतालिएर रुन थालेकी थिइन् । तर डरको कारण उनले उक्त घटना आफ्ना अभिवाकलाई भन्न नसकेको बताएकी छिन् ।

रश्मि देसाई
रश्मि देसाईले सम्बन्धविच्छेद पश्चात् उनी माथि भएको शारीरिक हिंसाको विषयमा आवाज उठाएकी थिइन् । उनले आफ्नै श्रीमानबाट पटकपटक शोषण सहनु परेको थियो । विवाहको सम्बन्ध बचाउन सुरुवाती चरणमा उनी चुप थिइन् । तर आफूमाथिको अत्याचार अति भएपछि उनले पतिबाट अलग्गिने निर्णय गरिन् र कानुनी प्रक्रिया अपनाइन् ।

कल्कि कोचलिन
कल्कीले ९ वर्षको उमेरमा एक व्यक्तिलाई शारीरिक सम्बन्धको लागि स्वीकृति दिएकी थिइन् । उक्त उमेरमा उनलाई यौन भनेको के हो भन्नेसम्म पनि थाहा थिएन । उनलाई उक्त घटना घरमा थाहा नहोस् भन्ने लागेको रहेछ । यो नै आफ्नो जीवनको सबैभन्दा ठुलो डर र भुल हो भन्ने लाग्ने गरेको उनले बताएकी छन् । उक्त समय खुलेर परिवारमा भन्ने हिम्मत गर्नुपर्ने रहेछ भन्ने पनि लाग्ने गरेको उनको भनाई छ ।

आरती सिंह
विग बोस १३ को एक भागमा आरतीले आफूमाथि भएको हिंसाको विषयमा बताएकी छन् । १३ वर्षको उमेरमा उनी माथि बलात्कार प्रयास भएको थियो । किसोरावास्थामा घटेको उक्त घटनाले उनलाई अझै पनि तर्साउने गर्छ ।

नेहा भसीन
गायिका नेहाले यस्ता घटना पटकपटक भोगेको बताएकी छन् । १० वर्षको उमेरमा पहिलो पटक एक अन्जान व्यक्तिले हरिद्वारमा उनीमाथि हिंसा गरेको थियो । उमेर बढे पनि उनी माथि हुने दुर्ब्यवहारको घटना कम भएन । एक व्यक्तिले उनको छातीमा हात राखेर स्तन चलाउने प्रयास गरेको थियो । यस्ता कैयौँ घटनाले आफूलाई असहज महसुस गराउने र लामो समयसम्म पिरोल्ने गरेको उनी बताउँछिन् ।

फातिमा सना शेख
दङ्गल गर्ल फातिमा सना शेखले आफूमाथि तीन वर्षको उमेरमा असहज क्रियाकलाप सामना गर्नुपरेको बताएकी छन् । दक्षिण एसियाली समाजमा यस प्रकारको घटनालाई कलङ्कको रूपमा लिने भएकाले समेत कोही पनि खुलेर आउन नसक्ने उनी बताउँछिन् ।

कङ्गना रनावत
कङ्गनाले भने अभिनय यात्राको सुरुवाती दिनमा शोषण भोग्नु परेको थियो । चलचित्र जगत् कै व्यक्तिबाट उनले शारीरिक हिंसा सहनु परेको हो । उक्त समय उनले आफूलाई बचाउन स्यान्डिल उठाएर हानेको उनको दाबी छ । त्यसपछि उक्त व्यक्ति आक्रोशित भएर उनलाई समेत पिटेको कङ्गना बताउँछिन् ।

अक्षय कुमार
महिला मात्रै शारिरीक दुर्व्यवहारको सिकार हुने भने होइनन् । अक्षय ६ वर्षको हुँदा ‘लिफ्ट म्यान’ ले उनी माथि नराम्रो तरिकाले छुन खोजेका थिए । यस विषयमा अक्षयले उनका बाबुलाई बताए । बाबुले प्रहरीमा उजुरी दिए । प्रहरीमा गएपछि थाहा भयो उक्त व्यक्तले यस्तो दुर्व्यवहार गरेको त्यो पहिलो घटना थिएन ।

३० प्रतिशत दुर्व्यवहार आफ्नै निकटका व्यक्तिबाट हुने तथ्याङ्कले देखाएको छ । आफू माथि भएका घटना बारे बताउँदा घरपरिवारले चुप गराउने र साथीभाइले मजाक बनाउने कारण समेत हिंसाका घटना बाहिर ल्याउन डराउने गरेको पाइएको छ ।

प्रतिक्रिया