केएमसीको शिविरबाट भक्तपुरका ८ सय बिरामीले पाए निःशुल्क उपचार सेवा

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले भक्तपुरको झौखेलमा मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नम्बर–३ र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडसँगको सहकार्यमा स्थानीय शहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ८ सय ६४ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय १४ जनाको ईसीजी, १ सय ९२ जनाको ल्याव टेष्ट र १६४ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ३१ जनाको दाँत खोलिएको छ ।

जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पताल रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई केएमसीमा ल्याउने र घर पुर्याउने गाडीको व्यवस्था समेत मिलाइएको छ । रेफर भएका बिरामीले तोकिएको समयमा अप्रेशन गराउन आएमा ५० प्रतिशत छुट पाउने र अरु समयमा आएमा २५ प्रतिशत छुट पाउने केएमसीले जनाएको छ ।

प्रतिक्रिया