जुध्न थाले चलचित्र : दर्शक बाँडिदा घाटा कसलाई ?

काठमाडौँ । नेपाली चलचित्र क्षेत्र बिस्तारै चलायमान हुँदैछ । एकपछि अर्को चलचित्र फ्लोरमा जाँदैछन् । तयारी चलचित्रले आफ्नो प्रदर्शनको मिति सार्वजनिक गर्दैछन् । चाडपर्वको छेको पारेर चलचित्र लगाउन निर्माता अग्रसर भएका छन् । एक वर्षसम्म ठप्प भएको चलचित्र क्षेत्र सलबलाउन थालेको छ ।तर, प्रदर्शनको तौर तरिका भने पुरानै देखिएको छ ।

एकै दिनमा धेरै चलचित्र लगाउने होडबाजी सुरु भएको छ । एक वर्ष थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन एक अर्कामा मिलेर जाने परिपाटी भने फिटिक्कै देखिएको छैन । जुध्न रमाउने चलचित्रकर्मीको व्यवहार फेरी पनि त्यस्तै देखिएको छ ।

भदौ १८ चलचित्र प्रदर्शनको लागि राम्रो दिन देखेका चलचित्रकर्मीले उक्त दिन आफ्नोमात्रै चलचित्र प्रदर्शन होस् भन्ने चाहेका छन् । तर ‘आफ्नै मात्रै’ हुनुपर्ने मोहले उक्त दिन धेरैको चलचित्र लाग्ने देखिएको छ । वैशाख नलाग्दै सो मितिमा ३ चलचित्र प्रदर्शन हुने पक्का भइसकेको छ । चलचित्र ए मेरो हजुर ४, आइ एम ट्वान्टीवान र सम्हालिन्छ कहिले मन उक्त दिनको मिति लिएर ढुक्क बसेका छन् ।

तिनै चलचित्रका निर्देशकको चलचित्र दर्शकले मन पराउँदै आएका छन् । तिनै निर्देशक झरना थापा, रेनेसा बान्तवा राई र सुदर्शन थापाका चलचित्रले दर्शकको माया बटुलेकै हुन् । ए मेरो हजुर ४ त अझ अघिल्लो चलचित्र दर्शकले मन पराएको कारण जोडी दोहोर्‍याएर बनाएको चलचित्र हो । त्यस्तै रेनेसाले धिरजलाई इन्टु मिन्टु लन्डनमा पश्चात् पुनः अर्को चलचित्रमा अनुबन्धित गरेकी हुन् । कारण फेरी पनि त्यही, दर्शकको चाहना । पूजा र आकाश जोडीको त के कुरा गर्नु उनीहरूको नामबाट खुलेका फ्यान क्लबले नै उनीहरू प्रतिको माया प्रस्ट्याउँछ ।

चलचित्र लाग्ने भयो । चलचित्र क्षेत्र चलायमान हुने भयो । तर कोरोनाको मार खेपेका दर्शकले एकै पटक ३ चलचित्र हेर्छन् होला त ? यसै पनि आर्थिक मारमा छन् आम जनता । यहीबिच एक दिनमा प्रदर्शन हुने ३ चलचित्रमा दर्शक बाँडिने पक्का छ ।

यसको असर निर्मातालाई नै पर्ने हो । चलचित्र प्रदर्शन गर्नलाई धेरै मिति खाली रहेको अवस्थामा नाम चलेका ३ व्यानरका चलचित्र जुध्नु खासै फलदायी भने देखिँदैन ।

प्रतिक्रिया