सर्वदलीय बैठक सम्पन्न, ताजा जनादेशमा जानुपर्ने प्रधानमन्त्रीको भनाइ

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रायः दलका कोही न कोही प्रतिनिधिहरु सहभागी थिए । तर, विपक्षी एमाले भने बैठकमा सहभागी भएन । यस्तै बैठकमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि अस्वस्थताका कारण सहभागी थिएनन् ।

छलफलका क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका थिए । पुनःस्थापित प्रतिनिधि सभाको शुरुको दिनको बैठकमा नै काम गर्न नसक्ने संकेत देखिएको भन्दै ओलीले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका थिए ।

प्रधानमन्त्रीको भनाइमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले प्रतिवाद गरेका थिए । संसद सुचारु गर्नुको विकल्प नरहेको पौडेलको भनाइ थियो । त्यसका लागि पहिला नै राष्ट्रपतिले पहल लिनुपर्ने भन्दै अब प्रधानमन्त्रीले नै कदम चाल्नुपर्ने उनको भनाइ थियो । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरेका थिए ।

नेताहरुले आ–आफ्नो भनाइ राखिसकेपछि राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिएन् ।

प्रतिक्रिया