वाजिदको सम्झनामा साजिदले गरे थर परिवर्तन

एजेन्सी । बलिवुडका चर्चित संगितकार साजिद खान आफ्ना भाइ वाजिदको मृत्युको कारण धेरै दुःखी बनेका छन् । यी दुई एक-अर्काको परिपूरक झैँ थिए । यसै कारण साजिदले आफ्नो थर परिवर्तन गरेर वाजिद राख्ने घोषणा गरेका छन् ।

दुई व्यक्ति भए पनि सङ्गीतकारद्वयलाई साजिद-वाजिद नामले नै परिचित गरायो । यिनै दुईमध्येका वाजिद खानको कोरोना भाइरस र मृगाैलासम्बन्धि समस्याका कारण केही समय अघि मृत्यु भयो । साजिदले वाजिदको नाम आफ्नो थरको रूपमा जोडेर वाजिदलाई जीवित राख्ने चाहेको बताएका छन् ।

साजिद भन्छन्, ‘मलाई कसैले अब साजिद खान नभनून् । मैले वाजिदलाई नै आफ्नो थर मानिसकेको छु । अब मेरो नाम साजिद वाजिद हो र यो नाम जीवनभर रहनेछ । उसको शरीर हामी माझ छैन तर मलाई पलपल उसको उपस्थितिको महसुस हुन्छ ।’ उनी थप्छन्, ‘मैले एक यस्तो धुन तयार पार्न सुरु गरेको छु‚ जसको बारेमा मैले सोचेको समेत थिइनँ । मलाई यो वाजिदको कारण सिर्जित धुन झैँ लाग्छ । ऊ सधैं मैसँग भएको अनुभूति हुन्छ ।’

साजिदले दुई भाइको मेलको किस्सासमेत सुनाएका छन् । वाजिदको अन्ततिरको समयको किस्सा झिक्दै उनी भन्छन्, ‘म उसको यति नजिक थिएँ कि सबैले नजाऊ भन्दै गर्दा म पिपिई प्रयोग गरेर उसलाई भेट्न अस्पताल गएँ । उसको मृत्युपछि एक पटक त ऊसँगै जान पनि मन लाग्यो । मैले ऊबिनाको जीवन कहिल्यै कल्पना गरेको थिइनँ । उसको अभाव त अब कसैले पूरा गर्न सक्दैन । उक्त समयमा मलाई सलमानले साथ दिए । मैले गुमाएको हिम्मत सलमानकै कारण फर्कियो । फेरि पनि केही गर्ने लक्ष्य छ भने सलमानकै कारण छ । उनले नै मलाई उक्त परिस्थितिमा सम्हालेर बाहिर ल्याए ।’

साजिद-वाजिदले चलचित्र दवंग, हिरो पन्थी‚ चश्मे बद्दुर, एक था टाइगर, तेरे नामलगायत धेरै चलचित्रमा एकसाथ काम गरेका थिए । वाजिदको १ जुन २०२० मा निधन भएको थियो ।

प्रतिक्रिया