सावधानी नअपनाएको भन्दै गौहरविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । भारतीय अभिनेत्री गौहर खानविरुद्ध बृहद् मुम्बई नगरपालिकाले कोभिड- १९ को नियम उल्लङ्घन गरेको भन्दै उजुरी दर्ता गरेको छ । मुम्बई पुलिस स्टेसनमा दिएको उजुरीमा उनीमाथि कोरोना सङ्क्रमित भएर पनि नियम नमान्दै घुमफिर गरेको आरोप लगाइएको छ ।

निवेदकले कोभिड- १९ बाट अपनाउनुपर्ने सावधानी सबैमा बराबर लागू हुनुपर्ने बताएका छन् । कोरोनाको सङ्क्रमणबाट सम्पूर्ण मिलेर पार पाउनुपर्नेमा उनी सङ्क्रमण भएको समयमा छायाङ्कन स्थल समेत पुगेकी थिइन् ।

११ मार्चमा कोरोना परीक्षण गराएकी उनी रिपोर्ट नआउँदै अर्को दिन दिल्ली पुगिन् । उनको रिपोर्टमा करोना सङ्क्रमण देखिएको थियो । यही जानकारी दिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आइनन् । उनी १४ दिन क्वारेनटिनमा बस्नु जरुरी थियो ।  तर उनले कुनै पनि नियम पालना नगरी घुमफिर गरिरहिन् । उनले दिल्लीमा गराएको परीक्षण भने कोरोना नेगेटिभ देखिएको थियो ।

रिपोर्ट लिएर नगरपालिकाका कर्मचारी उनको घरमा पुग्दा घर बन्द थियो । बुझ्दै जाँदा थाहा भयो, उनी त छायाङ्कनमा रहिछन् । खबर पाउनासाथ कर्मचारी प्रहरी कार्यालय पुगे र उनीविरुद्ध उजुरी दिए ।

प्रतिक्रिया