दुई पत्नीका पति राजपाल यादव

काठमाडौँ । चर्चित भारतीय कमेडियन राजपाल यादवको आज जन्मदिन । उनले बलिउड चलचित्रमा २५ वर्ष भन्दा लामो समय यता काम गर्दै आएका छन् । जन्मदिनमा आज हामी उनको व्यक्तिगत जीवनको चर्चा गर्दैछौँ :

राजपालले दुई जनासँग विवाह गरे । उनकी पहिलो पत्नी करुणा जसको मृत्यु भइसकेको छ । करुणाले छोरी ज्योतिलाई जन्म दिएकी थिइन्‚ जसको विवाहसमेत भइसकेको छ । ज्योति जन्मिनासाथ उनकी आमाको मृत्यु भयो । त्यसपश्चात् उनले राधासँग दोस्रो विवाह गरे । राधाका तर्फबाट उनका २ छोरीको जन्म भयो । यसरी उनी तीन छोरीका बाबु बने ।

सन् २००२ मा राजपाल चलचित्र ‘द हिरो’ को छायाङ्कनको लागि क्यानडा पुगेका थिए । त्यहाँ रहँदा एक साथीको माध्यमबाट उनले राधालाई भेटे । कफी सपमा भएको भेटमा यी दुईले एक अर्काको व्यक्तिगत र प्रोफेसनल जीवनको कथा साटासाट गरे । एक साथ १० दिन बिताएका यी दुईको त्यहीँबाट प्रेम सुरु भयो । छायाङ्कन सकेर राजपाल भारत आए भने राधा उतै बासिन् । दुरी टाढा भए पनि उनीहरूको एक अर्कासँगको सम्पर्क भने टुटेन । केही समयपछि राधा भारत आइन् र १० जुन २००३ मा उनीहरूले विवाह गरे ।

राजपालकी कान्छी श्रीमती उनीभन्दा ९ वर्ष कान्छी छन् । पाँच फिट दुई इन्च अग्ला राजपालकी श्रीमती उनीभन्दा धेरै अग्ली भएको अनुमान अरूले गर्ने गरेको भए पनि वास्तवमा उनी एक इन्चमात्रै अग्ली छिन् ।

राजपालले १९९९ मा चलचित्र दिल क्या करेबाट अभिनयमा डेब्यु गरेका थिए । मुख्य भूमिका नपाएका उनी चरित्र अभिनेताको रूपमा नै परिचित भए । ओटीटी प्ल्याटफर्ममा देखिएको चलचित्र ‘कुली नम्बर वान’ मा उनी अन्तिम पटक देखिएका थिए भने हङ्गामा २ मार्फत् उनी छिटै नै दर्शक माझ आउँदैछन् ।

प्रतिक्रिया